डि जी शर्मा,झापा
‘पर्यटन प्रवर्धन र साहित्य सँगसँगै’ भन्ने मूल नाराका साथ झापाको काँकरभिट्टामा तीनदिने साहित्य महोत्सव ‘रिडर्स फेस्टिबल २०२४’ शुक्रबारबाट प्रारम्भ भएको छ ।
मङ्सिर २८ देखि ३० गतेसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार आयोजित एक समारोहकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले समाजका हरेक क्षेत्रका व्यक्तिले पढ्नु आवश्यक रहेको भन्दै यस किसिमका कार्यक्रमहरुले पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
कोशी प्रदेश सरकारले सन् २०२५ लाई ‘पर्यटन वर्ष’ को रुपमा मनाउने योजना अघि सारेको उल्लेख गर्दै उहाँले त्यसको प्रचारका लागि यस किसिमका कार्यक्रम आयोजना गरिनु जरुरी रहेको बताउनु भयो । साथै यस किसिमका कार्यक्रमहरुमा कोशी प्रदेश सरकारको तर्फबाट साथ सहयोग रहने उहाँले वचन पनि व्यक्त गर्नुभयो ।
मेचीनगरमा भर्खरै स्थापना भएको रिडर्स अभियान नेपालको आयोजनामा आगामी आइतबारसम्म सञ्चालन हुने रिडर्स फेस्टिबलमा वर्मा, भुटान र भारतका नेपाली भाषी सर्जक र नेपालका सर्जकहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
मेची सामुदायिक भवनमा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै आयोजक रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले साहित्य र पर्यटनलाई सँगसँगै अघि बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसैले महोत्सवको अन्तिम दिन आइतबार कार्यक्रममा आमन्त्रित सर्जकहरुलाई झापाका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरुको भ्रमण गराउने कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भयो । यसको संयोजन होटल व्यवसायी संघ मेचीनगरले पनि गर्ने उहाँले बताउनु भयो ।
उद्घाटन समारोहमा मेचीनगरका पूर्व नगर प्रमुख विमल आचार्य, साहित्यकार तथा प्राज्ञ मुनाराज शेर्मा, साहित्यकार तथा प्राज्ञ सुभद्रा भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । झापा नेशनल स्कुलको तर्फबाट सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा रिडर्स अभियान नेपालका उपाध्यक्ष भगीरथ राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रिडर्स अभियान नेपालका सचिव मदन अधिकारीले गर्नुभएको थियो ।
फरक शैलीमा सञ्चालन गरिएको महोत्सवमा विभिन्न विद्यालयबाट छानिएका विद्यार्थीहरुबाट उनीहरूले अध्ययन गरेका पुस्तकमाथि उनीहरूले आ आफ्नो दृष्टिकोण राखेका थिए ।
यसका साथै कार्यक्रममा विभिन्न विषयमाथि प्यानल डिसकसन र रचना वाचन पनि हुने आयोजक समितिले
जनाएको छ । साहित्यपोस्ट मिडिया पार्टनरको रुपमा रहेको महोत्सवमा मेचीनगरपालिका सहयोगी संस्थाको रुपमा रहेको छ ।
‘सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन’ भन्ने मूल नाराका साथ गत असोजमा रिडर्स अभियान नेपालको स्थापना भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।