![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
रुकुम पश्चिम। मुसीकोट खलङ्गा बजारमा सडक नाटकः ‘दुर्व्यसनी’ भव्य रूपमा प्रदर्शन भएको छ ।
कलाकारहरूको बेजोड कला र दर्शकहरूको व्यग्र उत्सुकता तथा समर्थनले कार्यक्रम पूर्ण रूपमा सफल भएको हो । सामाजिक विकास कार्यालय रुकुम पश्चिम र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमबिच उक्त सडक नाटक देखाउने सम्झौतामा नाटक सम्पन्न भएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले रुकुम पश्चिमका प्रमुख बजारहरू सिम्रुतु, सिम्ली र खलङ्गा बजारमा उक्त सडक नाटक प्रदर्शन गरेको थियो ।
कार्यक्रममा त्रिवेणी मावि सिम्रुतु, दिव्यचक्षु मावि रुँघा, विद्या विकास मावि जिबाङ, राप्ती ज्ञानोदय मावि सिम्ली, सूर्योदय मावि बेलटापु, त्रिभूवन जनता मावि मुसीकोट खलङ्गा, यमुना नन्द नमुना मावि सेरीगाउँ, पशुपति मावि रातामाटा, सरस्वती मावि सल्ले, न्यू मुनलाइट बोर्डिङ स्कुल सेरीगाउँ, विजयश्वरी सेकेन्डरी स्कुल टटेलालगायतका विद्यालयहरूका सम्पूर्ण विद्यार्थीहरू, प्रधानाध्यापकज्यूहरू, शिक्षकहरू, कर्मचारीहरू, अभिभावकहरू तथा आम दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन हुँदै गर्दा दर्शकहरू पेट मिचिमिची हाँस्दा हाँस्दै , रोएको पनि थियो ।
प्राय दर्शकहरूबाट नाटकको प्रदर्शन पक्ष र प्रभाव पक्ष अब्बल रहेको प्रतिक्रिया आएको छ भने विभिन्न बजारमा यो नाटक पुनः प्रदर्शन गर्नको लागि माग पनि भएको छ ।
उक्त सडक नाटकका कलाकारहरूमा गिरिप्रसाद बुढा, चाँदनी महतारा, भूपेन्द्र बुढा, वीरबहादुर केसी, एक्कबहादुर केसी, दिलबहादुर खडका, पर्शुराम देवकोटा, भवानी खडका, सहीसलामत बुढा, अर्जुन रोका मगर, सुवास अधिकारी, टीका खडका र अतिराम थापा आदि हुनुहुन्थ्यो ।
एक्कबहादुर केसीद्वारा रचित तथा पूर्ण ओलीद्वारा सम्पादित र निर्देशित उक्त नाटक सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा तयार गरिएको हो । यो नाटक करिब ३५ मिनेटको रहेको छ । विद्यमान समाजमा महामारीको रूपमा फैलिरहेको लागुपदार्थ दुर्व्यसनजस्ता विकृतिहरू समूल नष्ट गर्नको लागि जनचेतना फैलाउनु नै नाटकको मुख्य सार रहेको छ ।
यस सडक नाटकले दुर्व्यसनले स्वास्थ्य, परिवार, र समाजमा पार्ने विनाशकारी असरलाई यथार्थ रूपमा प्रस्तुत गर्दै किशोरकिशोरी र युवाहरूलाई दुर्व्यसनबाट टाढा रहन प्रेरित गरेको छ । आफ्ना परिवारका सदस्यले कहाँ के गरिरहेको छ भन्ने बुझ्न र सहयोग गर्न परिवार र समुदायलाई झकझक्याएको छ । दुर्व्यसनसम्बन्धी नाटक हेरेकाहरूले समूहमा बसेर यो विषयमा छलफल गर्न थाल्ने अपेक्षा गरिएको छ भने दुर्व्यसनसम्बन्धी शिक्षण, परामर्श र पुनर्स्थापनाको कामलाई यथाशीघ्र अगाडि बढाउन दबाब दिएको छ ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)