लघुकथाकार मनीषकुमार शर्मा समितको तेश्रो लघुकथा कृति ‘अर्धशताब्दी’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

सिर्जना अभियान समाजद्धारा स्रष्टा समितको पचासौं जन्मोत्सवको अवसरमा आयोजित समारोहमा सो कृति सार्वजनिक गरिएको हो । विगत केही वर्षदेखि स्रष्टा समितले कृति सार्वजनिक गर्दै जन्मोत्सव मनाउने परम्परा थाल्नुभएको छ । कृतिभित्र समसामयिक विषयका पचास वटा लघुकथा छन् ।

कार्यक्रममा समालोचक धीरकुमार श्रेष्ठले लघुकथाकार मनीषका लघुकथामा विषयको विविधता रहेको र त्यसले जीवनका विशेष पक्षलाई कतै खुलेर त कतै छोपेर प्रभावकारी रुपमा अभिव्यक्त गरेको बताउनुभयो ।

अर्का समीक्षक दीपक लोहनीले समितले लघुकथाको आयामलाई ध्यानमा राखेर सटिक रुपमा प्रस्तुत गरेको बताउनुभयो ।
स्रष्टा समितले यस क्षेत्रमा आफूले पृथक पहिचान कायम गर्न शीर्षकदेखि विषयको चयन र प्रस्तुतिसम्म सकभर फरक प्रयास गरेको छु भन्नुभयो ।

लघुकथागानबाट सुरु गरिएको सो समारोहमा लघुकथा केन्द्रका अध्यक्ष लता केसीले स्रष्टा समितलाई शुभकामना दिनुभएको थियो भने स्रष्टाका गुरु नारायण फुयाँल र मन्दिरा चापागाइँले पनि मन्तव्य राख्नुभएको थियो ।
समारोहमा स्रष्टा समितलाई समाजका तर्फबाट कृति प्रकाशनको अवसर सार्थक उत्सव बनोस् भन्दै बधाई तथा शुभकामनापत्र प्रदान गरिएको थियो ।

समारोह समाजका सचिव धु्रव मधिकर्मीको सभापतित्वमा भएको थियो ।