झापा । लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदैआएको वीरता लेडी जेसीजले झापाको बिर्तामोडमा ‘सहारा साहित्य साँझ’ सम्पन्न गरेको छ ।

सहारा नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा प्यानल डिस्कसन सहित विशेष गजल वाचन रहेको थियो । कार्यक्रममा कवि मनु मञ्जिल, साहित्यकार तथा प्राज्ञ मुनाराज शेर्मा र साहित्यकार मिश्र बैजयन्ती विशेष वक्ताको रुपमा रहनुभएको थियो ।

उहाँहरुले ‘यौन मनोविज्ञान र प्रेम’ विषयमाथि आ- आफ्नो धरणा राख्नुभएको थियो । प्रेमको शुरूवात नै यौनबाट हुने भन्दै कवि मनु मञ्जिलले शरीरमा उर्जा रहेसम्म मान्छे युवा रहिरहने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी प्राज्ञ मुनाराज शेर्माले मानव सृष्टिलाई जोगाइराख्न प्रेम र यौन आवश्यक रहेको भन्दै साहित्यमा पनि यौन मनोविज्ञान कुनै न कुनै रुपमा प्रयोग हुँदैआएको बताउनु भयो ।

त्यस्तै साहित्यकार मिश्र बैजयन्तीले प्रेमलाई सहज रुपमा व्याख्या गर्न नसकिने भन्दै समय, परिस्थिति र उमेर अनुसार प्रेमको प्रकार पनि फरक हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तिनै जना वक्ताहरुले आ-आफ्ना कविता पनि सुनाउनु भएको थियो । झण्डै एक घण्टासम्म चलेको बहसमा कवि तथा सञ्चारकर्मी लीला अनमोलले सहजीकरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा झापाका दुई युवा गजलकार सिन्धु निरौला र उमेश विरोधीको विशेष गजल वाचन रहेको थियो । कार्यक्रममा उहाँहरुले दर्जन बेसी दमदार गजलहरु प्रस्तुत गर्नुभएको थियो ।

सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहित वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले जेसीजसँगको सहकार्यमा सहारा नेपाले यस किसिमको कार्यक्रम गर्दैआएको र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने वचन व्यक्त गर्नुभयो ।

वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निशा शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष सङ्गीता गिरीले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव मुना अधिकारी ढुङ्गेलले गर्नुभएको थियो ।