नेपाल सरकारबाट रुसका लागि मनोनित राजदूत प्राध्यापक डाक्टर जङ्गब चौहानलाई रुसी सदन र शैली थिएटरले संयुक्त रूपमा अभिनन्दन गरेका छन् ।
शैली थिएटरले रुसी सदन, कमलपोखरीमा आयोजना गरेको अभिनन्दन समारोहमा कार्यक्रमका अध्यक्ष तथा शैली थिएटरका निर्देशक नवराज बुढाथोकी, प्रमुख अतिथि, लेखक तथा साहित्यकार मोहन दुवाल, रुसी हाउसकी उपनिर्देशक श्रीमती अनुस लगायत अतिथिहरूले मनोनित राजदूत चौहानलाई सम्मान–पत्र, दोसल्ला र माला अर्पण गरी अभिनन्दन गर्नुभएको थियो ।
मनोनित राजदूत चौहानलाई रुसी सदनको तर्फबाट बधाई दिँदै उपनिर्देशक अनुसले प्रा. चौहानको कार्यकालमा नेपाल–रुस सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समालोचक तथा अनुवादक महेश पौड्यालले प्रा. चौहानले शैक्षिक, साहित्यिक र पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदानबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय दूतका रूपमा एकजना साहित्यिक व्यक्तित्वको मनोनयन हुनुले दुई देशबीचको नियमित कूटनीतिक र व्यापारिक सम्बन्धका अतिरिक्त कला, साहित्य र संस्कृतिको आदानप्रदानबाट जनता–जनताबीचको सम्बन्ध अझ राम्रो हुने सङ्केत गर्दछ ।’
सत्राअध्यक्ष तथा शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले रुसी कथा, कविता र नाटकको अनुवादबाट प्रा. चौहानले नेपाली साहित्य रङ्गमञ्चमा पर्याउनुभएको योगदानको स्मरण गर्नुभयो । उहाँले शैलीले छिट्टै काभ्रेमा कला र नाटक अध्यापन केन्द्र स्थापना गर्ने घोषणा गर्दै प्रा. चौहानलाई नयाँ परियोजनाको पनि अभिभावकत्व लिइदिन आग्रह गर्नुभयो ।
प्रमुख अतिथिका रूपमा बोल्दै लेखक तथा साहित्यिक पत्रकार मोहन दुवालले आफू दशकौँदेखि प्रा. चौहानसँगको सामीप्यमा रहेको भन्दै रुसी भाषा, साहित्य र इतिहासको विज्ञताका आधारमा उहाँभन्दा राम्रो रुसका लागि नेपाली राजदूत अरू कोही नहुने बताउनुभयो । उहाँले प्राध्यापक चौहानको सफल कार्यकालको कामना पनि गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै मनोनित राजदूत प्रा.चौहानले कला र साहित्य मानिस–मानिसबीचको बलियो पुल भएको बताउँदै आफ्नो कार्यकालमा यस्ता सम्बन्धलाई प्राथमिकतामा राख्ने बताउनुभयो। सामरिक, कूटनीतिक र व्यापारिक सम्बन्धहरू समय र राष्ट्रिय हितद्वारा सशर्त निर्धारित हुन्छन् भन्दै उहाँले भने, साहित्यिक र सांस्कृतिक सम्बन्धहरू कालातीत हुन्छन् र यिनले आम जनताको स्तरसम्म विस्तार गरेर सम्बन्धलाई शाश्वत र अटूट बनाउँछन् । उहाँले नियुक्ति प्रक्रिया पूरा हुनुअघि नै आफूले आदर्श मानेका व्यक्तित्वहरू सम्मिलित एक साहित्यिक जमघटले आफूलाई अभिनन्दित गरेकोमा आफू ज्यादै हर्षित भएको भन्दै आयोजकहरूलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, अनुभवी लेखक, थिएटर व्यवसायी र पत्रकारहरूको उपस्थितिमा अभिनन्दित हुँनु मेरा लागि अपार हर्षको विषय हो ।
कार्यक्रममा प्रा.चौहनाद्वारा नेपालीमा अनुवाद गरिएका रुसी कवि अलेक्ज्याण्डर पुस्किन र फ्योडोर ट्युटचेभका कविताहरूको वाचन र नाट्य–प्रस्तुति पनि राखिएको थियो । कविहरू खड्गसेन ओली, भवानी खतिवडा, महेश कार्की क्षितिज र सुशीला खड्का हसिना तथा नाट्य कलाकारहरू केदार श्रेष्ठ, कर्मा शाक्य र मेनुका प्रधानले कविता वाचन गर्नुभएको थियो । अभिनेता आशिष केसीले किशोर अनुरागको निर्देशनमा पुस्किनका दुई कविताको भाव नाट्य शैलीमा प्रस्तुत गर्नुभएको थियो ।
नाट्यकर्मी तथा निर्देशक सुनिल पोखरेल, बद्री अधिकारी, केदार श्रेष्ठ, किशोर अनुराग, पत्रकार रघु मैनाली, फोटो पत्रकार तथा नेपाल वातावरण पत्रकार समूहका नवनिर्वाचित अध्यक्ष चन्द्रशेखर कार्की, साहित्यकारहरू पुष्कर लोहनी, घनश्याम राजकर्णिकार, एलबी क्षेत्री, गोपाल पराजुली, प्रतीक ढकाल, युवराज नयाघरे, काँशीराज पाण्डे, घनेन्द्र ओझालगायतको उल्लेख्य उपस्थिति रहेको उक्त बहुभाषिक कार्यक्रमलाई साहित्यिक पत्रकार सिलाश थापा तामाङले सञ्चालन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।