अन्तर्राष्ट्रिय दर्शन दिवस २०२४ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान’दर्शनशास्त्र विभाग’ ले समाज विकास र दर्शन विषयक विचार गोष्ठीको आयोजना गरेको थियो ।

उक्त विचार गोष्ठीको ब्यानर वाचन गरेर प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्दघाटन गर्नुभएको थियो। उहाँले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा छन् । ती मध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञा प्रतिष्ठानले खोजमूलक अध्ययन गरी तिनको निरुपण गर्ने बताउनु भएको थियो।

दार्शनिक चिन्तक गोपीरमण उपाध्यायले ‘समाज विकास र दर्शनु विषयक कार्यपत्र’ प्रस्तुत गर्दै वर्तमान युग समाजवाद र पुँजीवादबिच द्वन्दको युग हो । यसको दार्शनिक चिन्तन प्रणाली वैज्ञानिक भौतिकवाद हो भन्ने धारणा राख्नु भएको थियो। उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै मार्क्सवादी चिन्तक श्याम श्रेष्ठले कुनै पनि दर्शनलाई गति र वर्गीय समानताको आधारमा आलोचनात्मक दृष्टिकोणसहित विज्ञानसम्मत ढङ्गले समाज विकासलाई हेर्नुपर्ने बताउनु भएको थियो । अर्का टिप्पणीकार राजनीतिक चिन्तक प्रमेश हमालले समाज विकासमा दर्शन र चिन्तनले पारेको प्रभावलाई वस्तुत निष्ठ व्याख्या गर्न जोड दिनु भएको थियो।

सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै कुनै धर्मले संशयलाई रोक्छ,तर कुनै पनि दर्शनले विषयवस्तुमाथि संशय पैदा गरिदिन्छ भने दर्शन विज्ञानले ठयाक्कै निरुपण गर्छ, यसले समाज विकासमा गहिरो प्रभाव रहेको बताउनु भएको थियो ।

उक्त ‘समाज विचार र दर्शनविषयक’ विचार गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय डा.भागवत आचार्य र धर्मेश पोखरेल तथा सहभागीका तर्फबाट डा.भरतप्रसाद बराल,निमानन्द रिजाल,डा.सोम धिताल,प्रकाश तिमल्सिना र प्रेम शिल्पकारले आआफ्ना जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको उद्घोषण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।