नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारका लागि नामहरूको घोषणा गरेको हो ।

अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्रा. डा. वीणा पौड्याललाई चयनित गरिएको छ भने राष्ट्रिय कलाश्री पुरस्कार प्रतिभाशाली कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
यसै गरी स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार युवा पत्रकार तथा उपन्यासकार वसन्त बस्नेतलाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार लोक गायक तथा सङ्कलक कमलीकान्त भेटवालाई प्रदान गर्ने निर्णय गरेको प्रष्तिठानले सञ्चार माध्यमहरूलाई जानकारी गराएको छ ।

राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेका छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीका अनुसार पुरस्कार समर्पण कार्यक्रम माघ महिनाको अन्त्यतिर काठमाडौंमा आयोजना गरिने छ । , प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।