काठमाडौँ — इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार राणाको निधन भएको हो । उहाँ ९९ वर्षको हनुहुन्थ्यो ।

उपचारका क्रममै बिहीबार मध्याह्न सवा १२ बजे निधन भएको अस्पतालका सूचना अधिकारी अनिता श्रेष्ठले कान्तिपुरलाई जानकारी दिनुभयो । चिकित्सकहरूका अनुसार राणा लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।

रक्तचापमा समस्या देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । राणाका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ ‘तीन भाग’, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका र गुज्रेका घट्नाहरू’, ‘लुकेछिपेका प्रतिभाहरू’, ‘मेरा जीवनका स्मृतिहरू’, ‘जङ्गबहादुर र राणाकालीन दर्पण’लगायतका पुस्तक प्रकाशित छन् ।

राणाको जन्म १९८२ साल चैत्र १५ मा काठमाडौंस्थित चारबुर्जा दरबार ‘हाल निर्वाचन आयोग रहेको भवन’ मा भएको थियो । राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । जुद्ध शमशेरले हजुरबुवा रुद शमशेरलाई पाल्पा लखेट्दा पुरुषोत्तम मात्र ८ वर्षका हुनुहुन्थ्यो । पाल्पा दरबारमै उहाँले लेखपढ सिक्नुभएको थियो । उहाँले बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।