काठमाडौं । किंवदन्ती शृंखलाअन्तर्गत कथालयले बाल चित्रकथा ‘गुरूमापा’ बजारमा ल्याएको छ ।
यो इतिहास र किंवदन्तीसँग सम्बन्धित कथा हो । पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रवीन्द्र मानन्धरले चित्र बनाउनुभएको छ ।
पुस्तकको पहिलो कथा प्राचीन काठमाडौंको केन्द्रमा रहेको इतुम बहालको परिवेशबाट सुरु हुन्छ ।

यहाँका स्थानीय व्यक्ति केशचन्द्र जुवाका लती थिए । हार्दै गएपछि एकदिन उनी दिदीकहाँ पुगे । दिदीले सुनको थालमा खाना दिएकी थिइन्, खाना खाइसकेपछि केशचन्द्रको लोभ थालप्रति जाग्यो । दिदीको आँखा छलेर लिएर भागे र त्यही थाल पनि जुवामा हारे । यसरी क्रमशः दिदीकहाँ गएर कहिले चाँदी त कहिले काँसको थाल चोरेर जुवामा हार्न थाले । दिदी दिक्क भएपछि एकदिन भुइँमै भात दिइन्, उनले कपडामा पोको पारेर त्यहाँबाट हिँडे । रुखको छहारीमा सुस्ताएका बेला एक राक्षस आइपुगे र उनलाई खान खोजे । केशचन्द्र चलाख पनि थिए र राक्षसलाई मामाको साइनो लगाएर फकाउन थाले । उनले आफ्नै घरमा लिएर आए । तर, अचानक छरछिमेकका बालबालिका गायब हुन थाले । केशचन्द्रले राक्षस पालेको थाहा पाएपछि गाउँलेले के गरे होलान् ?

यस्तै, अर्को कथा तिब्बती बौद्ध गुरु मार्पासँग सम्बन्धित छ । बाल्यकालमा रिसाहा र उद्दण्ड स्वाभावका उनी बुद्ध धर्मको ज्ञान लिन भारतसम्म पुगेको रोचक यात्रा वर्णन यसमा छ । गुरु नरोपाबाट उनले तन्त्र विद्यासहित धेरै ज्ञान लिएर तिब्बत फर्किएको कथा पनि समावेश छ ।

कतिपयले गुरुमार्पा नै काठमाडौंमा गुरुमापाका रूपमा आएको पनि भन्छन्, त्यसैले यसमा गुरुमापा र गुरुमार्पाको भिन्दाभिन्दै कथा भए पनि त्यो कतै न कतै जोडिएको पाइन्छ । पुस्तकका लेखक भिक्टर प्रधान नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान, लेखन र अनुवाद कार्यमा सक्रिय छन् । बालसाहित्यका कैयौं पुस्तक सम्पादन तथा अनुवाद गरिरहेका उहाँ बौद्ध दर्शन र इतिहासका अध्येता पनि हो । उहाँको पहिलो रचना ‘बौद्ध दर्शन र प्रजातन्त्र’ शीर्षकमा २०३१ सालमा प्रकाशित भएको थियो । त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक रहिसकेका उहाँले पछिल्लो समय उपन्यास ‘विडुडव र कपिलवस्तुको पतन’ ल्याउनुभएको छ ।

यो पुस्तक पाँच वर्ष वा त्यसभन्दा माथिका बालबालिकालाई पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त छ । ३२ पृष्ठ रहेको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ । किंवदन्ती शृंखलाअन्तर्गत नै यसअघि ‘बौद्ध स्तूप’ बाल चित्रपुस्तक बजारमा उपलब्ध रहेको कथालय इन्ककी सीईओ सुनिती अमात्यले बताउनुभयो ।