काठमाडौं । ‘अन्तर्दृष्टि पुरस्कार २०८१’ का लागि तीन विधामा पुरस्कारको घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्बर २०२४ को उपलक्ष्यमा पुरस्कारहरूको घोषणा गरिएको हो ।
देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको छ । ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पाउने व्यक्तिको छनोट भने समितिका सदस्यहरू डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापाको निर्णयका आधारमा गरिएको हो ।
‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित कास्की, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मुक्तिनाथ आचार्यलाई प्रदान गरिनेछ ।
त्यस्तै,अन्तर्दृष्टि हातेमालो पुरस्कार दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित कास्की, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय गरिमा थापा र करिना काफ्लेलाई संयुक्त रूपमा प्रदान गरिनेछ ।
त्यसैगरी, पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार डिजिटल अनलाइन पत्रिका उकेराडटकममा कार्यरत पत्रकार मोनिका वाइबालाई प्रदान गरिनेछ ।
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रु. १५ हजार छ । अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम यसपटकदेखि रु. १० हजारबाट १५ हजार पुर्याइएको हो ।
अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा अनि सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वार २०७७ सालमा यो पुरस्कारको स्थापित गरिएको थियो ।
पुरस्कारहरू वसन्तपन्चमीका दिन प्रदान गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।