बाह्रखरी मिडियाले कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै, उहाँले कथाकृतिको लोकार्पणका गर्दै समेत गर्नुभयो ।

‘बाह्रखरी कथा लेखन प्रतियोगिता – २०८१’ मा उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहनुभएको छ ।

कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तक पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो ।

बाह्रखरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. ज्ञानू पाण्डे संयोजक रहनुभएको थियो भने साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य हुनुहुन्थ्यो ।

विगतमा झैँ यस वर्ष पनि नेपालसहित भारतका मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा अन्य मुलुकहरू चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डलगायत देशमा बसोबास गर्ने नेपालीभाषी कथाकारहरूले सहभागिता जनाउनुभएको बाह्रखरीले जनाएको छ ।