म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक भएको छ । आर्ट घरको निर्माणमा तयार भएको म्युजिकल फिल्मलाई भीष्म जोशीले लेखन तथा निर्देशन गर्नुभएको हो ।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक फिल्ममा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ।

सपना बोकेर काठमाडौं आएको ग्रामीण युवाको भोगाइ फिल्ममा देख्न सकिन्छ। निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाएका छन्।

पछिल्लो समयका चर्चामा आएका गायक तथा संगीतकार प्रशान्त सिवाकोटीको आवाज तथा उनैको संगीत रहेको ‘कोठा’ मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ। यसमा देउडा भाकालाई पनि स्थान दिइएको छ।

आयोजित कार्यक्रममा सिवाकोटीले भन्नुभयो ‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु। विश्वास छ सबैले हाम्रो नयाँ सांगीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।’

निर्देशक जोशीले गाउँबाट सहर आएपछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर ‘कोठा’ तयार गरेको बताउनुभयो।

नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको यस ‘कोठा’ मा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय छ।

सरोज श्रेष्ठको छायांकन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस म्युजिकल फिल्ममा निर्देशक जोशी र कवि देव व्रतको शब्द सुन्न सकिन्छ।