झापा । रिडर्स झापाले २०६९ देखि दुई–दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको पाँचौँ संस्करण आगामी फागुन १४, १५ र १६ गते काँकडभिट्टामा आयोजना गर्ने भएको छ ।

कोभिड–१९ महामारीका कारण २०७७ सालमा यो उत्सव आयोजना हुन सकेको थिएन । महामारीपछिको आर्थिक संकटले पनि विगतमा कार्यक्रमलाई निरन्तरता दिन चुनौती खडा गरेको रिडर्स झापाको अध्यक्ष शैलेस दाहालले बताउनुभयो । ‘यस पटकको उत्सवलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न हामी लागेका छौं’, अध्यक्ष दाहालले भन्नुभयो ।

उत्सवमा वर्तमानका पेचिला सवालहरूमाथि कलात्मक र विचारोत्तेजक छलफल हुने शनिबार जारी विज्ञप्तिमा जनाइएको छ । साथै, २०८१ को सुरुवातदेखि चलिरहेको पर्यावरण विमर्शलाई उत्सवको मुख्य केन्द्र बनाउँदै कृषक, शिक्षक, कलाकार, लेखक, बौद्धिक, सञ्चारकर्मी र विद्यार्थी लगायतका समूहलाइ सक्रिय सहभागिता गराइने छ ।

रिडर्स झापाले आफ्नो नियमित साप्ताहिक कार्यक्रमहरुमार्फत लोकतन्त्रको सबलताको लागि वैचारिक विमर्श र कलाको महत्वलाई निरन्तरता दिँदै आएको छ ।

मानवीय सम्बन्धलाई न्यायपूर्ण र शान्तिपूर्ण बनाउन ज्ञानको विनिमयलाई जोड दिने संस्थाले यस पटकको उत्सवलाई थप प्रभावकारी बनाउन स्रोत साधनका सीमितताबीच तयारी गरिरहेको छ । कार्यक्रमका वक्ता, विषयवस्तु र प्रस्तुतिबारे पत्रकार सम्मेलनमार्फत चाँडै सार्वजनिक गरिने जनाइएको छ ।