नेपाल पर्या साहित्य प्रतिष्ठानले साहित्यपोस्टसँग मिलेर १ लाख ५४ हजार रूपैंया बराबरको पर्या निबन्ध प्रतियोगिता गर्नेभएको छ । पर्या साहित्य अन्तर्गत निबन्ध लेखनमा पनि सहभागिता बढाउन उक्त प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक विजय हितानले जनाउनुभएको छ ।

प्रतियोगितामा प्राप्त निबन्धहरूमध्ये प्रथमलाई ५० हजार रूपैंया पुरस्कारका साथमा सम्मान गरिने जनाइएको छ । त्यसैगरी, द्वितीय  र तृतीय निबन्धलाई क्रमशः ४० हजार र ३० हजार रूपैंयाका साथमा सम्मान प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट २० निबन्धहरू सङ्ग्रहका रूपमा प्रकाशन गरिने हितानले जनाउनुभएको छ  । संग्रहमा प्रकाशित बाँकी १७ निबन्धकारलाई जनही २ हजार रूपैंया सम्मानस्वरूप प्रदान गरिनेछ ।

पर्या निबन्ध प्रतियोगिताको नतिजा २०२५ मे ३१ शनिवार (२०८२ जेठ १७) काठमाडौंमा आयोजना गरिने ‘१० औं वातावरण साहित्य गोष्ठी’मा सार्वजनिक गरिनेछ । सोही दिन निबन्धसंग्रहको पुस्तकको लोकार्पण पनि हुनेछ ।

उत्कृष्ट बीस निबन्धहरूको सङ्ग्रह साहित्यपोस्टले प्रकाशन गर्ने प्रधानसम्पादक अश्विनी कोइरालाले जनाउनुभएको छ ।

प्रतियोगिताको शर्त तथा नियमहरू निम्नानुसार रहेको छः

  • निबन्धको विषय पर्यावरणसँग सम्बन्धित हुनुपर्नेछ ।
  • निबन्ध नेपाली भाषामा लेखिएको साहित्यिक भाव झल्किने हुनुपर्नेछ । साहित्यिक भाव नै निबन्ध मूल्याङ्कनको पहिलो कसी हुनेछ । भाषिक शुद्धता, वैचारिक सुसङ्गति र स्पष्टतामा विशेष ध्यान दिइनेछ ।
  • निबन्ध २ हजार ५०० देखि  ३ हजार ५०० शब्दसम्मको हुनुपर्नेछ ।
  • निबन्ध युनिकोड या प्रिति फन्टमा टाइप गरी वर्ड फाइलमा पठाउनुपर्नेछ ।
  • निबन्ध प्रतियोगितामा संसारभरिका स्रष्टाले भाग लिन सक्नुहुनेछ. ।
  • निबन्ध अप्रकाशित, अप्रसारित र मौलिक हुनुपर्नेछ ।
  • नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको निबन्ध कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
  • छनोटमा परेका निबन्ध प्रकाशन वा प्रसारण गरेको भेटिएमा पुरस्कार निलम्बन गरिनेछ ।
  • प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, मोबाइल नम्बर, ई-मेल र हालसालै खिचिएको फोटो पठाउनुपर्नेछ ।
  • निबन्ध पठाउने अन्तिम समय २०२५ फेब्रुवरी २८ शुक्रबार (२०८१ फागुन १६), रातको १२ बजेसम्म रहनेछ ।
  • निबन्ध पठाउन तथा सम्पर्कका लागि इमेल bryanhitan@hotmail.com रहेकाे छ ।