माेरङ। गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह “सराब” र गीतकार दिलिप राई सगरको गीत सङ्ग्रह “साईमा स्यामुना” मोरङमा एकसाथ लोकार्पण गरिएको छ ।

साहित्यपोस्टका युएई संयोजक समेत रहनुभएका गजलकार राज यात्री लम्सालको सुन्दरहरैँचास्थित निवासमा आयोजित कार्यक्रमका बीच ती कृतिहरु लोकार्पण गरिएको हो ।

गजलकार राज यात्री लम्सालकी आमा जीवकुमारी लम्सालको सभापतित्वमा सम्पन्न “स्रष्टा भेटघाट तथा रचना वाचन” कार्यक्रममा कवि छवि वैरागी घिमिरे र सगरमाथा साहित्य प्रतिष्ठान, कोशी प्रदेशकी अध्यक्ष तथा कवि मिश्रा गुरुङले लोकार्पित कृतिमाथि आ-आफ्नो विचार राख्नुभएको थियो ।

हाल मोरङको उर्लाबारी निवासी गीतकार राईका यसअघि पाँच ओटा कृति प्रकाशित छन् । त्यसैगरी झापाको धरमपुर निवासी गजलकार काश्यपको यसअघि २०६४ सालमा पहिलो गजल सङ्ग्रह “नयनभित्र तिम्रो तस्बिर” प्रकाशित छ ।

कार्यक्रममा सर्जकहरु छवि वैरागी घिमिरे, मिश्रा गुरुङ, खगेन्द्र समरस, कृष्ण काश्यप, चन्द्र सम्बाहाम्फे, केपी घिमिरे, टीका खड्का राष्ट्रप्रेमी, राज यात्री लम्साल, डि जी शर्मा लगायतले आ-आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सलकपुर सङ्गीत साधना सामुदायिक कला केन्द्रका संरक्षक पुण्य सङ्ग्रौला र लीला सङ्ग्रौलाको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

गजलकार राज यात्री लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन गजलकार तथा सञ्चारकर्मी केपी घिमिरेले गर्नुभएको थियो ।
सोही कार्यक्रमका अवसरमा सगरमाथा साहित्य प्रतिष्ठान, कोशी प्रदेशको सल्लाहकारमा कवि छवि वैरागी घिमिरे र गजलकार तथा सञ्चारकर्मी केपी घिमिरेलाई चयन गरिएको छ ।