समता स्कुल, इटहरीले एकदिने ‘समता साहित्य उत्सव’ को तेस्रो अध्यायको आयोजना गर्नेभएको छ । ‘शब्द, सिर्जना र प्रेरणाको उत्सव, समता साहित्य उत्सव’ नारा लिएर उत्सवको आयोजना गरिएको हो ।

५ वर्षदेखि आयोजना गर्दै आइएको यो कार्यक्रम मङ्सिर १४ गते शुक्रबार इटहरीस्थित समता स्कुलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

विद्यार्थीहरूलार्इ साहित्य, संस्कृति र कलासँग जोड्न तथा अग्रज सर्जकहरूसँग परिचित गराउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विमल वैद्यले बताउनुभयो । ‘आँखाले देखिने भौतिक विकास मात्र विकास होइन, चेतनाको विकास पनि अझ ठूलो विकास हो । हामी चेतना र कलाको विकासका लागि यस्ता कार्यक्रम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

कार्यक्रमको पहिलो सत्रमा माध्यमिक स्तरीय कविता प्रतियोगिता हुनेछ भने दोस्रो सत्रमा कवि मनु मञ्जिलले इकोराइटिङको बारेमा सम्भाषण तथा कवि मिश्र वैजयन्तीले विद्यालय र साहित्यको बारेमा बोल्नु हुनेछ ।

त्यस्तै, तेस्रो सत्रमा पूर्वका ५० सर्जकहरूले आफ्नो सिर्जनाहरू प्रस्तुत गर्नु हुनेछ । साथै, विद्यालयका तर्फबाट विद्यार्थीहरूले विभिन्न झाँकी प्रस्तुत गर्ने विमल वैद्यले जनाउनुभएको छ ।

समता साहित्य उत्सवको अघिल्लो अध्याय इलाममा भएको थियो भने आगामी अध्याय झापामा हुनेछ ।