पोखरा । पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले पोखरामा आयोजना गरेको ‘टीकामाया—बलराम सारङ्गी साँझ’मा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया र बलरामलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
समाजमा योगदान पुर्याएका भुइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक पत्रकार अमृत भादगाउँलेले बताउनुभयो ।
‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौं’ ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔं।’ , उहाँले भन्नुभयो, ।
कार्यक्रममा साहित्यकार सूरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोकसंस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताउनुभयो।
कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पत्तिले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाउनुभएको थियो ।
पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उहाँहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’ लगायत केही गीत गाउनुभएको थियो ।
दर्शक दीर्घामा कला, साहित्य, संस्कृति, शिक्षा र पर्यटन क्षेत्रका दर्शकहरूको सहभागिता थियो।
को हुन् टीकामाया र बलराम ?
पोखराको कालिकानगरमा बसोबास गर्दै आउनुभएका लोकगायक दम्पत्ति टीकामाया र बलराम दुबैजना ५८ वर्षको हुनुभयो । दुबैले करिब ५ दशकदेखि सारङ्गी रेट्दै आइरहनुभएको छ । सारङ्गीको धुनसँगै उहाँहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्नुहुन्छ ।
भोजपुरमा जन्मिनुभएकी टीकामाया विद्रोही नारी हुन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने त्यतिबेलाको परम्परागत मान्यतालाई तोडेर उहाँले ५ वर्षकै उमेरमा सारङ्गी वादन सुरु गर्नुभएको थियो । सारङ्गी बजाएर सार्बजनिक रुपमा हिँड्ने पहिलो महिला त उहाँ हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रच्नुभएको छ । तीसको दशकमा टीकामायाका स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो।
कालिकानगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँनुहुन्थ्यो । उहाँको स्वरमा पनि तीन ओटा गीत रेकर्ड भएका छन्। आजका दिनमा पनि यो दम्पत्ति सारङ्गी बजाउँदै गाउँघर डुल्नुहुन्छ ।
दुबैजना १३ वर्षको उमेर हुँदा उहाँहरूको भेट पृथ्वीराजमार्गको जक्सन मुगलिनमा भएको थियो। त्यहीँबाट प्रेम अँकुराएपछि उहाँहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गर्नुभएको थियो । छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही बर्ष सारङ्गी बजाउनुभएको थियो ।
यसरी रैथाने सङ्गीत मार्फत समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेका जोडीलाई सम्मान गरेर कन्सेप्ट नेपालले भुइँमान्छेको पक्षमा उदाहरणीय काम गरेको छ।
स्मरणीय छ, कन्सेप्ट नेपालले बेलाबेलामा भुइँमान्छेको सम्मान गर्दै आएको छ। उसले वि.सं २०७५ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उहाँलाई गायनमा पुनरागमन गराएको थियो। त्यस्तै वि.सं. २०८० मा पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’लाई ६० वर्षको उमेरमा पहिलो पटक काठमाडौं पु¥याएर ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो।
कन्सेप्ट नेपालले मुलुकका स्थापित कवि, लेखक र पत्रकारलाई विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनका काम पनि गर्दै आएको छ। यसै सिलसिलामा खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा घुमाइसकेको छ।
काव्ययात्रामा पनि कला, साहित्य, संस्कृति र सनातनी सिप संरक्षण गर्दै आएका स्थानीय भुइँमान्छेलाई नगदसहित सम्मान गर्ने गरेको छ। विभिन्न मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा कार्यक्रम गरिन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।