काठमाडौं : विश्वप्रसिद्ध चिनियाँ उपन्यास ‘पश्चिम दिशाको यात्रा’लाई कथालयले बाल चित्रकथा शृंखलाका रुपमा बजारमा ल्याएको छ।
चिनियाँ चर्चित लोक उपन्यासमध्येको एक ‘पश्चिम दिशाको यात्रा’ मा भारत भ्रमणमा हिँडेका एक बौद्ध भिक्षु र पछि उनीसँग साथ लागेको साहसिक र चतुर बाँदरको विस्तृत वर्णन छ।
मिङ वंशको समय अर्थात् सोह्रौं शताब्दीमा प्रकाशनमा आएको उपन्यासमा एक सय भाग छन्।
टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र भारत यात्रामा आधारित उपन्यासले चिनियाँ लोककथा र स्थानीय परिवेशलाई चित्रण गरेको छ। मूलत: उपन्यासले चिनियाँ लोककथा, बौद्धिक दर्शन, धार्मिक यात्रा, शक्ति र सद्भावको कथा बोकेको छ।
कथालयले यही उपन्यासमा आधारित बाल चित्रकथाको तीन भाग प्रकाशनमा ल्याएको छ। पहिलो भाग ‘बाँदर राजाको उत्पति’, दोस्रो ‘स्वर्गमा बाँदरको उपद्रो’ र तेस्रो ‘अनौठो टोपी’ रहेका छन्। अर्को वर्षसम्म १० भाग प्रकाशन गर्ने कथालय इन्ककी सीईओ सुनीति अमात्यले बताउनुभयो ।
धेरै पहिले पहाडको विशाल चट्टान फुटेर बाँदरको जन्म भएको कथाबाट शृंखलाको पहिलो भाग सुरु हुन्छ। ७२ किसिमका विभिन्न अवतारमा परिवर्तन हुन सक्ने बाँदर निकै शक्तिशाली थियो। एक पटकमा एक लाख आठ हजार माइल दूरी पार गर्न सक्ने क्षमता उसमा थियो। जब ऊ त्यहाँबाट बाहिर निस्कियो, स्वर्गको दरबारमा ठूलो अशान्ति मच्चायो। सम्राटलाई अपमानित गर्यो। त्यसको सजायस्वरुप एक बोधिज्ञान प्राप्त ज्ञानीले उसलाई पहाडमा टाँसिएर बस्ने श्राप दिए। यसरी ऊ धेरै वर्ष पहाडमा च्यापिएर बस्नुपर्यो। धेरै वर्षपछि एक बौद्ध भिक्षु पश्चिमतिरको यात्रामा थिए। बाँदरलाई देखेर त्यहाँबाट मुक्ति दिए। त्यो बाँदर खासमा सुन उखोङ थियो।
अनौठो र चकचके बाँदरको गतिविधिमा केन्द्रित कथा निकै रोचक छ। तेस्रो भागसम्म आइपुग्दा आफ्नो मुक्तिपछि भिक्षुको साथमा हिँडेको बाँदरले यात्रामा भिक्षुकै सुरक्षाका लागि उठाएको जोखिम, लुटेरा र विभिन्न हिंस्रक जीवतन्तुसँगको लडाइँको साहसिक कथा छ। यस्तै, सेतो ड्रागनको रहस्य र घोडामा रूपान्तरणजस्ता प्रसंगले कथालाई पठनीय बनाएका छन् ।
यस पुस्तकका चित्रहरु आकर्षक, रमाइला क्रमिक सैलीमा छन् रमाइला चित्रहरूले पुस्तकलाई पढ्नलाई अझै धेरै हौसाउने छ ।
‘पश्चिम दिशाको यात्रा’ शृंखलाको अनुवाद डा. राजु अधिकारी र सम्पादन प्राडा. ध्रुवकुमार घिमिरेले गर्नुभएको हाे । यो पुस्तक नौ वर्ष वा त्यसभन्दा माथिका बालबालिकालाई पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा १२ वर्षभन्दा माथिका बालबालिकाले आफै अध्ययन गर्न सक्ने प्रकाशन संस्था कथालयले जनाएको छ ।
पुस्तकको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
को हुन् लेखक ?
‘पश्चिम दिशाको यात्रा’ का लेखक वु चेङ्गेन हुन्। उनले परम्परागत कन्फ्युसियन शिक्षा ग्रहण गरेका थिए। सन् १५४४ मा उनी इम्पेरियल विश्वविद्यालय नान्जिङमा रेजिडेन्ट स्कलरका रुपमा नियुक्त भए। १५४६ देखि १५५२ सम्म उनी बेइजिङमा बसे, त्यहाँ उनी सानो साहित्यिक समूहमा पनि रहे। पछि उनी शास्त्रीय शैलीमा कविता र गद्य लेख्न थाले। १५७० मा उनी हुवाइएन फर्किए। त्यसपछि उनले पश्चिम दिशाको यात्रामा आधारित मौखिक र लिखित लोककथालाई आफ्ना सिर्जनामा प्रस्तुत गर्न थाले। यस्ता अनौठा कथा लेखनले उनलाई अझ धेरैमाझ चिनायो।
त्यो समयमा यो उपन्यास आधिकारिक शास्त्रीय शैलीभन्दा विपरीत स्थानीय भाषामा लेखिएको थियो। त्यसैले लेखकको सुरक्षाका लागि यसलाई छद्म नामबाट प्रकाशित गरिएको थियो। यसरी लामो समयसम्म पनि यसका लेखक वु चेङ्गेन नै हुन् भन्ने रहस्यमै थियो। लेखक चेङ्गेनको ८२ वर्षको उमेरमा १५८२ मा निधन भयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










