भक्तपुर । भारत (तेजपुर, आसाम) बाट आउनुभएका स्रष्टाहरूको सम्मानमा भक्तपुरमा लघुकथा गोष्ठी तथा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
हाम्रो लघुकथा केन्द्र र सिर्जना अभियान समाजको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा लघुकथा वाचन र विवेचनासँगै दुई देशका बीच रहेको साहित्यिक तथा सांस्कृतिक सम्बन्धबारे चर्चा गरियो ।
कार्यक्रममा प्रमुख अतिथि एवं भाषा आयोगका सदस्य डा. पुष्कर भट्टले सबै भाषाको आआफ्नै महत्त्व र विशेषताका कारण तिनको संरक्षणमा सरकारले ध्यान दिएको बताउँदै लघुकथाको क्षेत्रमा दुवै देशमा धेरै काम भएको बताउनुभयो ।
पूर्वोत्तर हिन्दी साहित्य अकाडेमीका अध्यक्ष रीता सिंह सर्जनाले हिन्दी भाषाको माध्यमबाट पूर्वोत्तर क्षेत्रका विविध भाषाको विकासका लागि आफूहरूले काम गरिरहेको बताउँदै आगामी दिनमा आपसी सहयोगका विविध साहित्यिक कामहरू गर्ने उल्लेख गर्नुभयो ।
कथाकार ध्रुव मधिकर्मीले स्रष्टाहरूलाई स्वागत गर्दै स्रष्टा र सिर्जनाको माध्यमबाट दुई देशका जनताबीच हार्दिक सम्बन्ध विकास गर्न सकिने बताउनुभयो ।
हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले आफ्नो संस्थाले लघुकथाको प्रवर्धनका लागि काम गरिरहेको जानकारी दिंदै त्यसैको फलस्वरूप यसरी एकैथलोमा भेट सम्भव भएको बताउनुभयो ।
लेखक गुम्पी डूसो लोम्चीले अरुणाञ्चलको साहित्यको जानकारी दिंदै नेपालको संस्कृतिसित पनि यसको मेल भएको बताउनुभयो ।
लघुकथाको परिचय र इतिहासलाई लेखिएको गानबाट शुरु भएको सो कार्यक्रममा लघुकथाकारहरू निर्मला बराल, मनीषकुमार शर्मा, मिसु श्रेष्ठ, इन्दिरा चापागाइँ, सत्या अधिकारी, अम्बिका धिताल, श्याम श्रेष्ठ, पूजा सुनुवार (तेजपुर), वैदेही कोठारी (भोपाल), तुमुल सिन्हा, ध्रुवराज थापा, राजेशमान केसी, रोशन पराजुली र प्रार्थना खनालले लघुकथा वाचन गर्नुभयो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा पाहुना श्रष्टाहरूलाई पुस्तक उपहार र सम्मानपत्र प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।