काठमाडौं । युवा साहित्यकार एन.बी. अन्जानको “एकल अन्जान साँझ” गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा दर्जनौं साहित्यकार, श्रोता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पत्रकारीता तथा लेखन क्षेत्रका प्रबुद्ध व्यक्तित्व तारा बरालको विशेष उपस्थिति रहेको थियो । कवि प्रज्ज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण गजलकार बाबु त्रिपाठीले गर्नुभएको थियो । गायनमा राज सागरले अन्जानलाई साथ दिनुभएको थियो ।

लामो समयदेखि लेखन तथा साहित्य क्षेत्रका विविध विधामा कलम चलाउँदै आउनुभएका अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलमा ‘वान्स् मोर’ गुञ्जिएको थियो ।

अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजलसंग्रह, ‘आहुति’ गजलसंग्रह, ‘मौसम’ गजलसङ्ग्रह, ‘आधा इन्च’ हाइकु, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता पुस्तकहरू लेख्नुभएको छ ।

कार्यक्रमको अवसरमा अन्जानलाई गोधूलि साहित्य सम्मानले सम्मानित समेत गरिएको थियो ।