काठमाडौं । भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) को ६५ औं वार्षिक महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली नेपाल फर्किएको छ ।

सो टोलीमा नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष विधान आचार्य, त्रिवि नेपाली विभागका सहप्राध्यापक डा. नेत्र एटम, गोरखापत्र संस्थानमा आबद्ध लेखकहरू ऋतुराज सुवेदी र अभय श्रेष्ठ, मनमोहन प्राविधिक विश्वविद्यालयकी मुख्य लेक्चरर सविता गौतम दाहाल, कवि चन्द्र गुरूङ तथा डा. नाज सिंह संलग्न हुनुहुन्थ्यो ।

कार्तिक २५ देखि २८ सम्म आयोजित महोत्सवमा भारत तथा श्रीलङ्काका साहित्यकार र पर्यावरण अभियन्ताहरूका साथमा नेपालका कवि विधान आचार्यलाई पनि ‘सार्क लिटरेचर अवार्ड’बाट सम्मानित गरिएको छ । महोत्सवमा विभिन्न सत्रमध्ये एकमा आचार्यले साहित्य र पर्यावरणबारे पत्र प्रस्तुत गर्नुभयो भने नेपाल र अन्य देशका कविहरूले भाग लिएका कविताका अन्य दुई सत्रहरूमा उहाँले अध्यक्षता गर्नुभयो ।

यसैगरी, ऋतुराज सुवेदीले आख्यानको एक सत्रमा अभि सुवेदी लिखित बीपी कोइरालाको ‘मोदि आइन’ आधारित एक पुस्तकमाथि समालोचकीय परिचर्चा र अभय श्रेष्ठले समकालीन आख्यान लेखनमा चर्चा गर्नुभयो । अन्य सहभागीहरूले अङ्ग्रेजी कविताका सत्रहरूमा आआफ्ना कविता प्रस्तुत गर्नुभयो ।

सोही अवसरमा कवि सविता गौतम दाहालको पिरामिडस् अफ लेक्सिकल रिपल्स शीर्षकको कविता सङ्ग्रहको प्रमुख अतिथि, प्रसिद्ध पर्यावरण संरक्षणवादी सन्त बलबीसिंह सिचेवाल र अजीत कौरबाट लोकार्पण गरिएको थियो ।

उद्घाटन तथा समापनबाहेक कुल २६ सत्रहरूमा विभाजित सो चार दिने महोत्सवमा प्रख्यात चित्रकार अर्पणा कौरका चित्रहरूको प्रदर्शनी, सांस्कृतिक नृत्यहरू तथा डा. कृष्णकान्त का एकल अभिनयहरूको प्रस्तुति पनि गरिएको थियो । साथै, एक दिन सहभागीलाई दिल्लीको पुरानो किल्लाको भ्रमणसमेत गराइएको थियो ।

भारतीय साहित्यकी मूर्धन्य साहित्यकार अजीत कौरले सो महोत्सव ६५ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आउनुभएको छ । उमेरले ९० वर्ष पुग्नुभएकी कौर आख्यान साहित्यकी बेजोड प्रतिभा भएकाले भारत सरकारले उनलाई पद्मश्री सम्मानबाट वर्षौं पहिले नै विभूषित गरिसकेको छ ।