काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरू” सार्वजनिक भएको छ ।
कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. महेशकुमार आचार्य, पवन आलोक, प्रा.डा.गोविन्दप्रसाद पौडेल, डा. दिनबन्धु शर्मा, कृतिकार जीवराज भट्टराई लगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरू उत्कृष्ट भएको अनुमान गर्न कठीन नहुने बताउनुभयो । त्यस्तै, रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरु चिर्नुपर्ने जनाउनुभयो ।
समालोचक डा. शान्तिमाया गिरी र प्रा.डा. गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गर्नुभएको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गर्नुभयो । उहाँले साहित्यिक क्षेत्रमा देखिएका विकृति-विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा प्रा.डा. महेशकुमार आचार्य तथा डा. दीनबन्धु शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समाजका सचीव प्रकाश घायल राख्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष डा. सदानन्द कँडेलले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।