काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको १६औं शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न गरेको छ । सो अवसरमा भुजेल भाषा अध्येता विशम प्हुगालद्वारा लिखित ‘भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश भएको स्मरण गर्दै प्रज्ञा-प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला शुरु गरेको बताउनु भयो । उहाँले बहुभाषिक समुदायको जागरुकता र अभियानले मात्रै जनजातिको भूगोल, संस्कृति, इतिहास र सभ्यता जर्गेना हुन सक्ने बताउनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशीला रिसालले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्यका राख्नभएको थियो । उहाँले मातृभाषा साहित्य शृङ्खला शुरु भएदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्ने र अनुसन्धान गर्न सक्ने अवसर मिलेको बताउनुभयो ।
भुजेल भाषाको साहित्य विषयक कार्यपत्रमाथि प्राज्ञ डा.विष्णु सिञ्जाली, प्रताप नाछिरिङ, सोम धिमाल र श्रीराम उपाध्यायले आआफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले विभिन्न जनजातिले इतिहासमा भोगेका पीडा, उत्पीडन, उकालीओराली र आरोहअवरोहलाई बुझ्न मातृभाषा साहित्य शृङ्खला महत्त्वपूर्ण गाथा बनेको बताउनुभएको थियो ।
कलाकार छेवाङ तेन्जिङ लामाले कार्यक्रममा रैथाने बाजा टुङ्नाको धून प्रस्तुत गर्नुभएको थियो भने कुलुङ भाषाका कवि फूलमाया कुलुङ, साम्पाङ राई भाषामा नानुमती राई र मैथिली भाषामा स्नेहा झाले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 




