कोहलपुर, मङ्सीर १ / कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठाननको आयोजनामा विशेष समारोह गरी कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित दुई पुरस्कार अर्पण गरिएको छ । वर्ष २०८१ को कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट नेपाली लोकगीत र साहित्य क्षेत्रमा सक्रिय रोल्पाकी स्रष्टा पवित्रा घर्तीलाई र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार नेपाली गजल, कविता जस्ता विधामा साधनारत दाङमा जन्मिई सुर्खेतमा सक्रिय स्रष्टा ऋषि शर्मा सुदामालाई प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले कार्यक्रम र साहित्यिक गतिविधि प्रशंसनीय रहेको बताए । उनले बद्रीविक्रम थापाको निडर प्रशासनिक व्यक्तित्व र मानवीय भावना अनुकरणीय रहेको बताए । पुरस्कार संस्थापक बद्रीविक्रम थापाको सुपुत्र किरण थापाले आफ्ना पिताले कर्मक्षेत्र बनाएका ३५ जति जिल्लामा यस्तै सेवाभावले समर्पित रही शिक्षा, साहित्य, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्ने योजना बनाएको बताए । पूर्णिमाले साहित्य र वाङ्मयको सेवामा सक्रिय उपयुक्त पात्रलाई सम्मान गरेको भन्दै विशिष्ट अतिथि प्रा.डा.कृष्ण प्रसाद घिमिरेले साहित्यिक हिसाबले यो क्षेत्र उर्वर रहेको बताए । संस्थाका उपाध्यक्ष खोपीराम वलीले कर्मयोगी बद्रीविक्रम थापा र पुरस्कृत स्रष्टाहरूको व्यक्तित्वमाथि प्रकाश पारे ।
कार्यक्रमको दोस्रो सत्रमा डा.चिन्तामणिनाथ योगीको साहित्य र आध्यात्मिक जागरणको सन्देशमूलक प्रवचन रहेको थियो । प्रवचमा पूर्वीय साहित्य, संस्कृति र सभ्यता पश्चिमको भन्दा समुन्नत रहेकाले हामीले हाम्रो संस्कार भुल्न नहुने र राम्रा पक्षको पालना गर्नुपर्ने बताए । उनले विश्वबन्धुत्व, बसुधैव कुटुम्बकम्, माता-पिताको सम्मान गर्न जान्नुपर्ने भन्दै आत्मविश्वास र आत्मज्ञानले मान्छे साँचैको मान्छे बन्ने बताए । कार्यक्रममा भेरी साहित्य समाजका पूर्व अध्यक्ष हरिप्रसाद तिमिल्सिना, लेखक नरेन्द्रजङ्ग पिटर, कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष तथा पूर्णिमाका सल्लाहकार प्रदीप भट्टराई, कोहलपुर वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने लगायतले शुभकामना मन्तव्य दिएका थिए । पुरस्कृत स्रष्टाहरूले पूर्णिमा साहित्य प्रतिष्ठान र बद्रीविक्रम पुरस्कार गुठीप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना रचना सुनाए । कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र काठमाण्डौँका गरी १०० जति साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पुष्कर रिजालले गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गरेका थिए ।