भेषजराज साहित्य प्रतिष्ठान र दुर्गाखिमा फाउन्डेसनको सहयोगमा प्रतिभा सम्मान र रचनावाचनको ७८ औँ शृङ्खला सम्पन्न । रम्भा गाउँपालिका १ असर्दीको गुरुकुलममा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा .डा शालिकराम सुवेदी हुनुहुन्थ्यो ।

सम्मानित स्रष्टाका रूपमा प्रा .डा कृष्णप्रसाद न्यौपाने र डा.तर्कना शर्मा हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा चैतन्यकृष्ण, डा.शङ्करप्रसाद गैरे, डा. टंक पन्थ, पूर्व सांसद शंकर पाण्डे, पूर्व प्रदेश सांसद मोहन रेग्मी, वाचक श्रवण न्यौपाने, अर्जुन भुसाल लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि प्रा .डा शालिकराम सुवेदीले समय जसरी पनि बित्छ तर कुन कर्मले बित्यो भन्ने कुरा महत्त्वपूर्ण हो भन्ने विचार व्यक्त गर्नुभयो । हरिबोधनी एकादसीको उपयुक्त समय र जमघटमा सत्पात्रलाई सम्मान गरिएको सन्दर्भलाई जोड्नुभयो । गाईले घाँस खाएर दूध दिन्छ तर सर्पलाई दुध खुवाएमा विष प्रदान गर्छ भन्ने मर्मका साथमा पुरस्कारको चयन सुपात्रमा भएको धारणा राख्नुभयो । उहाँले पुरस्कृत व्यक्तित्वहरूलाई बधाईसमेत ज्ञापन गर्नुभयो ।

विशिष्ट अतिथि चैतन्यकृष्णले धर्ती नै रचना र सिर्जनाको स्रोत रहेको मर्म प्रस्तुत गर्नुभयो । पुरस्कृत व्यक्तित्व प्रा .डा कृष्णप्रसाद न्यौपानेले सम्मान लिनु भनेको एक प्रकारको बोझ र दायित्व थपिनु हो भन्नुभयो । सम्मानित व्यक्ति डा.तर्कना शर्माले स्याङ्जाको माटोले नै आफूलाई सिर्जना गर्न प्रेरित गरेको कुरा उल्लेख गर्नुभयो ।

पूर्व सांसद शंकरप्रसाद पाण्डेले आफू जन्मेको ठाउँमा नपुगीकन कसैले उत्तर पाउँदैन भन्ने भावका साथमा उत्तरवाहिनीको मर्मलाई स्पष्ट पार्दै ‘स्वर्गिन्छ आफ्नै थलु’ शीर्षकको कविता  वाचन गर्नुभयो । त्यस्तै, डा. टंक पन्थले ‘खेताला बन्छ राम्ररी’, डा. शंकरप्रसाद गैरेले ‘एक जोगी’, कवि लेखनाथ काफ्लेले ‘थरीथरीका बाँदर’,  हरि पंगेनीले ‘कवि शिक्षक र कलाकार’, ढालबहादुर केसीले ‘उत्तरवाहिनी’, शम्भु अर्यालले ‘आमा’, खगेन्द्र अर्यालले ‘भिन्न बाटो’, हरि भट्टराईले ‘बुद्धत्व’, दमकुमारी बगालेले ‘कालीगण्डकी ममता’ शीर्षकको कविता वाचन गर्नुभयो ।

इन्द्रप्रसाद पाठकले ख्याली भाकाको गीत, ईश्वर पंगेनी र कमल बगालेले गजल वाचन गर्नुभयो । गल्याङ प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रेले गजल प्रस्तुत गर्नुभयो ।

दीपक लम्सालले उपस्थित सम्पूर्ण व्यक्ति र सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा भएको थियो । उहाँले साहित्यको महत्त्व झल्काई साहित्यमा कलम चलाउने प्रतिभालाई उत्साहित गर्नु हामी समाजका नागरिकको कर्तव्य रहेको विचार व्यक्त गर्नुभयो ।

दुर्गाखिमा फाउन्डेसनका अध्यक्ष गोपाल कंडेलले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो। कार्यक्रम प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो ।