उदयपुर । प्रगतिशील लेखक संघ, उदयपुरले त्रियुगा नगरपालिका भित्रका सामुदायिक विद्यालयका नेपाली विषयका शिक्षकहरूका लागि दुई दिने छन्द लेखन प्रशिक्षण तथा लघुकथा, कथा, निबन्ध, बालसाहित्य लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको प्रमुख आतिथ्यमा भएको उक्त प्रशिक्षणको उद्घाटन गर्दै विद्यालयमा पढाइने शैक्षिक पाठ्यक्रममा रहेका छन्द तथा गद्य कविता, निबन्ध, कथा लगायतका विषय पढाउँदा शिक्षकहरूले पनि ज्ञान लिन पर्ने भएकाले शिक्षाको गुणस्तर वृद्धिमा यो प्रशिक्षणले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेसका पूर्व राष्ट्रिय परिषद् सदस्य तथा साहित्यकार पुण्य कार्की लगायतका साहित्यकारहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेका अनुसार यही कार्तिक २३ र २४ गते दुई दिन भएको प्रशिक्षणले शिक्षकहरूको अध्यापन, प्रस्तुति तथा लेखन सीपको विकास हुने र विद्यार्थीहरूले पनि शिक्षकहरूबाट छन्द कविता, गद्य कविता तथा कथा निबन्ध बालसाहित्य लेखन सीपको ज्ञान आर्जन हुनेछ । उहाँले यसबाट भोलिका दिनमा राम्रा संस्कृति कर्मी तथा साहित्यकारहरू उत्पादन गर्न सकिने भएकाले यो प्रशिक्षणलाई विशेष महत्त्व दिएर सञ्चालन गरिएको बताउनुभयो ।

मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्बयाम्पसमा सञ्चालन भएको यो प्रशिक्षण कार्यक्रम त्रियुगा नगरपालिकाको जनतासँग उपमेयर कार्यक्रमको आर्थिक सहयोगबाट सञ्चालन गरिएको र प्रा.डा. देवी नेपालले नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा अन्य सहभागि प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

त्रियुगा नगरपालिका भित्रका सामुदायिक विद्यालयका, त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पसका नेपाली विषयका शिक्षकहरू र प्रलेस उदयपुरमा आबद्ध भएका तथा अन्य लेखक साहित्यकारसहित ४५ जनाको सहभागिता रहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

यसअघि यस्तो कार्यक्रम उदयपुरगढी गाउँपालिका स्तरीय प्रलेसले माध्यमिक विद्यालय नेपालटार खाटडाँडामा आयोजना गरेको थियो ।