काठमाडौँ । हङकङ प्रवासी संखुवासभा, मादीका साहित्यकार दाजु गुरुङको तेस्रो कृति तथा पहिलो उपन्यासकृति ‘निरजोया’को राजधानीमा संघीय विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरियो । सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, विशिष्ट अतिथि प्राज्ञ श्रवण मुकारुङ, विशेष अतिथि डा. अशोक थापालगायतले कृतिको विमोचन गर्नुभएको हो ।
यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा ‘निरजोया’ विमोचन भएको थियो ।
कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपाली डायास्पोरिक साहित्य लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गरी ‘निरजोया’ लेखेको बताउनुभयो । उहाँले भन्नुभयो, ”दाजुका यसअघि आएका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ अत्यन्त पठनीय कृति थिए । यो उपन्यासकृति ‘निरजोया’ झनै उत्कृष्ट रूपमा आएको छ । यसको विषयवस्तु, भाषाशैली, कथावाचन सबै रूचिकर छन् ।”
प्राज्ञ मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्दै कृतिले पाठकलाई तान्ने नभएर पाठकचाहिँ कृतिप्रति तानिनुपर्नेमा जोड दिनुभयो ।
डा. थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा माया–प्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा सङ्कटमा पर्दै गइरहेको कुरालाई गम्भीर ढंगले उठाएको बताउनुभयो । उहाँले गुरुङको लेखनशैली विशेष किसिमको रहेको उल्लेख गर्दै उपन्यास ‘निरजोया’ पठनीय कृति रहेको बताउनुभयो ।
राजकुमार बानियाँले उपन्यासकार गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताउँदै ‘निरजोया’ नेपाली साहित्यका लागि नितान्त नयाँ स्वादको भएको विचार व्यक्त गर्नुभयो ।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सहजीकरणमा भएको कार्यक्रममा कल्पना काफ्ले, उमेश अवस्थी आदर्शलगायतले विचार व्यक्त गर्नुभएको थियो ।
पु्स्तक फिनिक्स बुकले प्रकाशन गरेको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।