बाल साहित्यकार गोपाल पराजुलीको निधन भएको छ । बानेश्वर, काठमाडौंमा बसोबास गर्दै आउनुभएको उहाँको काठमाडौंमै निधन भएको हो ।

वि.सं .२००२ जेठ ९ गते काभ्रेको भमरकोटमा जन्मनुभएका पराजुली वि.सं. २०२१ सालमा गोरखापत्र दैनिकमा ‘सम्पादकलाई चिठ्ठी’ प्रकाशन गरी साहित्य लेखनमा प्रवेश गर्नुभएको थियो ।

उहाँका राष्ट्रिय विभूति, हाम्रा केही प्रसिद्ध साहित्यकार, नानीको बानी (बाल निबन्धसङ्ग्रह), रूपाको साहस (बाल कथासङ्ग्रह), एक दिनको यात्रा (बाल उपन्यास), पच्चीस प्रतिभा (जीवनी सङ्ग्रह), समयका डोबहरू (कवितासङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् ।
उहाँले शिक्षा विभागको प्रकाशन ”शिशु पत्रिका” समेत सम्पादन गर्नुभएको थियो ।

उहाँले राष्ट्रिय बाल पुरस्कार, बाल कथा पुरस्कार, बाल हितकारी पुरस्कार, बाल साहित्य पुरस्कार, देवकुमारी बाल साहित्य पुरस्कार, सृजना सम्मान लगायतका पुरस्कार तथा रत्न बालकोश, बाल साहित्य समाजबाट अभिनन्दन समेत पाउनुभएको थियो ।