भक्तपुर । साहित्यकार एवं समालोचक प्रा.डा. गोविन्दराज भट्टराई भक्तपुरमा सम्मानित हुनुभएको छ । भट्टराईलाई चक्रपाणि स्मारक प्रतिष्ठानले ‘चक्रपाणि स्मरण पुरस्कार – २०८१’ ले सम्मान गरेको हो ।

भट्टराईलाई चक्रपाणि चालिसेको जन्मस्थान सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणिको प्रतिमास्थलमा आयोजित कार्यक्रममा जलस्रोत, सीमा एवम् प्रशासनविद् पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा ढुङ्गेलले नेपाली साहित्य पनि विश्वस्तरको भएको बताउँदै साहित्यमा रविन्द्रनाथ टेगोरले नोवेल पुरस्कार जिते जस्तै नेपाली साहित्यकारले पनि जित्ने अपेक्षा राख्नुभयो । उहाँले अहिलेका नयाँ कथाकारहरूले पुराना कथाहरूको अध्ययन गरेर त्यस्तै उत्कृष्ट कथा नेपाली साहित्यलाई दिनुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा साहित्यकार एवम् समालोचक प्रा.डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गर्दै भट्टराईले नेपाली साहित्यलाई विश्वसामु चिनाउन अहम् भूमिका निर्वाह गर्नुभएको चर्चा गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व भट्टराईले चक्रपाणि स्मरण सम्मानले आफूले जीवनमा नेपाली साहित्यमा केही योगदान गरेको अनुभूति भएको प्रतिक्रिया दिनुभएको थियो ।

सो कार्यक्रममा प्रतिष्ठानले सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित सार्वजनिक र नीजि स्रोतबाट सञ्चालित विद्यालयमा अध्ययन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउन एक छात्र र एक छात्रालाई नगद ५ हजारसहित ‘बैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८०’ बाट पुरस्कृत गरिएको थियो ।

साहित्यकार बैजनाथ चालिसेले आफू र आफ्नी धर्मपत्नी शुभद्रा चालिसेको नाममा स्थापना गरेको सो पुरस्कार प्राप्त गर्ने छात्र कटुञ्जेस्थित युनिटी इङ्गलिस स्कुलका आशिष थापा हुनुहुन्छ भने छात्रामा दधिकोटस्थित मोर्डन स्कुलका समिरा माकजू रहनुभएको छ ।

कार्यक्रममा १० जना कविहरूले कविता वाचन गर्नुभएको थियो । साथै, प्रतिष्ठानले आयोजित राष्ट्रव्यापी कथा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने कथाकारहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

साथै, कथा प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट ३० वटा कथालाई समेटेर तयार गरेको कथासंग्रह ‘साहित्य वार्षिक चक्रपाणि’को लोकर्पण समेत गरिएको थियो ।