
काठमाडौं । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माले निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ प्रकाशनमा ल्याउनुभएको छ । ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रा.डा.दयाराम श्रेष्ठ, कवि डा. विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रम बीच कृति सार्वजनिक गर्नुभएको हो ।
प्रमुख अतिथि महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुङ्गेधाराको पानी पिएर आफू हुर्केको स्मरण गर्नुभयो । उनले निबन्ध पढ्दा मज्जा आएको भन्दै निबन्धमा आफूलाई छोएका प्रसंगहरूको चर्चा गर्नुभयो ।
अर्का वक्ता नाटककार अशेष मल्लले भावलाई शब्दमा अभिव्यक्त गर्न सिपालु निबन्धकार शर्माको पुस्तक पढेपछि चित्र हेरेजस्तो, संगीत सुने जस्तो, महाकाव्य पढेजस्तो अनुभूति गराएको बताउनुभयो ।
यसैगरी, गीतकार एवं कवि एसपी कोइरालाले शर्मालाई गीत लेख्न नछोड्न आग्रह गर्नुभयो । उहाँले निबन्धहरू इमान्दारी र बौद्धिकताको कसीमा घोटिएर प्रकाशनमा आएको बताउनुभयो ।
कवि डा. विष्णुविभु घिमिरेले शर्माको लेखनीका पक्षहरूको बारेमा चर्चा गर्नुभयो भने निबन्धकार श्रीओम श्रेष्ठले शर्माका निबन्धहरुमा मौलिकता हावी भएको बताउँदै नभनीकन धेरै भनिएको र आफ्नो जस्तो गरेर लोककै कुरा बोल्ने निबन्ध आएको बताउनुभयो ।
निबन्धकार मुकुन्दराज शर्माले आफ्नो निबन्धका रचना गर्भ सुनाउँदै निबन्धको केही हरफ वाचन गर्नुभयो भने कृतिबारे समीक्षात्मक टिप्पणी निबन्धकार कुमारी लामा र प्रा.डा.दयाराम श्रेष्ठले राख्नुभयो ।
निबन्धकारका दाजु कलाकार हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम पूर्वमन्त्री उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा गायक पुष्प नेपालीले शर्माद्वारा रचित गीत गाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले गर्नुभएको थियो ।
कृतिलाई कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

