रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ चाँडै बजारमा आउने भएको छ ।
पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीलगायत अन्य हस्तलिखित दस्तावेजहरू समावेश छन् । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान् समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक-सामरिक कारण र आउन सक्ने परिणामलाई समेत उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यका बारेमा विस्तारमा चर्चा गरेका छन् ।
पुस्तकका सन्दर्भमा लेखक भन्छन्, ‘२००७ सालको परिवर्तनलाई आख्यानको रूपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैँ संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर र उपयोगी हुने आसा गरेको छु ।”
लेखकको यसअघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ चर्चित रह्यो । उक्त पुस्तकको सातौँ संस्करण पनि ‘क्रान्ति र प्रतिक्रान्ति’ सँगै बजारमा उपलब्द हुनेछ । पुस्तक असोज दोस्रो साताबाट बजारमा उपलब्ध हुनेछ ।
“सुन्दरीजल सैनिक जेलबाट बीपीले मलाई लेख्नुभएका चिठीहरु कालजयी छन् ।” लेखक पाण्डेले भने, “पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रूपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरू प्रासङ्गिकताअनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्, बाँकी पछि आउने पुस्तकमा समावेश हुने छन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।