काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा एक कार्यक्रममा सार्वजनिक भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सवेदी, समालोचक डा. ज्ञानू पाण्डे, आख्यानकार नयनराज पाण्डे, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले सार्वजनिक गरे ।
प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै उनको कथालेखन एक विशिष्ट खालको रहेको र कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास स्तुत्य रहेको बताए । उनले भने, ‘अङ्ग्रेजी विषयमा प्राध्यापन गर्ने सुमन वर्षाको कथा सरसर्ती पठन गर्दा सरल लागे पनि यी कथाहरूमा पाश्चात्य कथालेखनको प्रभाव भेटिन्छ । उनका कथामा सामाजिक विषयका साथै विज्ञान कथा, पर्यावरणीय विषयको कथा र रोबोटिक कथा पनि समावेश भएकाले सङ्ग्रह विशेष बनेको छ । सुमनले कतिपय कथा फरक दृष्टिकोण र पृथक् शैलीका साथ लेखेकी छन् । कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन् ।’
त्यस्तै, मन्तव्यकै क्रममा डा. ज्ञानू पाण्डेले कथाकृतिबारे चर्चा गर्दै कथाकार सुमन वर्षाले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको यथार्थ चित्रण गरेको बताइन् । उनले कथाकार वर्षाका यस सङ्ग्रहका कथाहरूमा समाजको राम्रो चित्रण रहेको बताउँदै भनिन्, ‘साहित्यकार समाजको मनोचिकित्सक हुन् । तिनले समाजका अन्तरङ्ग घाउलाई साहित्यमार्फत् उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ ।’
अर्का वक्ता आख्यानकार नयनराज पाण्डेले वर्षाको प्रस्तुत कथासङ्ग्रहमाथि आफ्नो पाठकीय मन्तव्य राख्दै कथाकार सुमनका कतिपय कथाहरू फरक विषय र शैलीको भएको बताए । उनले कथाकार सुमन वर्षा एक साहसिक कथाकार हुन् भन्दै कथाकार वर्षाले आफ्ना कथाहरूमा फरक विषय, विविध कथावस्तुलाई सहज रूपमा चित्रण गरेको बताए ।
कार्यक्रममा अन्य अतिथिहरू जगत तिमिल्सिना, विनोदचन्द्र पन्त, कथाकार वर्षाकी सुपुत्री डा. सोमिका बस्नेतले आआफ्नो मन्तव्य प्रस्तुत गरेका थिए भने कथाकार सुमन वर्षाले आफ्नो लेखकीय मन्तव्यका रूपमा आफ्नो यस सङ्ग्रहमा रहेका कथाहरूको सिर्जनामा विभिन्न व्यक्तित्वको साथ र प्रेरणा रहेको चर्चा गरिन् ।
कार्यक्रमका सभापतित्व शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडलले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार रञ्जना निरौलाले गरेकी थिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










