काठमाडौं । मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई २०८० सालको मदन पुरस्कार तथा प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ ।

मदन पुरस्कार गुठीले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरेर पुरस्कार वितरण गरेको हो ।

‘मुकाम रणमैदान’लाई परिश्रमपूर्वक खोजबिन, ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवं प्रभावमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएबापत ‘मदन पुरस्कार’ प्रदान गरिएको गुठीले जनाएको छ । त्यस्तै, ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान’ गरे बापत प्रा.डा. यादवलाई जगदम्बा–श्री अर्पण गरिएको जनाइएको छ ।

पुरस्कार अर्पण समारोहमा बोल्दै जगदम्बा-श्री सम्मान प्राप्त प्रा.डा. यादवले लोप हुँदै गएका भाषालाई जोगाउन शिक्षणमा जोड दिए। “संकटग्रस्त भाषाको संरक्षणका लागि ती भाषालाई शिक्षामा प्रयोग गर्न अनिवार्य देखिन्छ। शिक्षा नै प्रयोगको सरल र सशक्त माध्यम हुन जान्छ,” उनले भने।

त्यस्तै, लेखक मैनालीले नेपाल-अंग्रेज युद्धबारे गाउँघरमा लाहुरेबाट सुनेका कथालाई नै पुनर्कथन गरेको बताए। “नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोर्‍याइरहेको २१० वर्ष जति अघिको त्यस लडाइँबारे सिपाहीहरूले त्यति वेलै हालेका सत्य कथालाई पुनर्कथन गरेको छु,” उनले भने।

समारोहमा प्रा.डा. कटक मल्लले विद्वद् प्रवचन दिएका थिए। उनले पृथ्वीको वातावरणीय सीमाहरूको सन्तुलन, अमेरिका र रूस हतियार नियन्त्रण सन्धिको अन्त्य, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अक्षमता जस्ता विषयमा केन्द्रित भएर बोलेका थिए। यससँगै उनले परम्परागत सैन्य सुरक्षासँगै जैविक, जलवायु र वातावरणीय सुरक्षाको आवश्यकताबारे औंल्याएका थिए।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो ।

त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो।

यसअघि २०७९ सालको जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई अर्पण गरिएको थियो ।