काठमाडौं । उपन्यासकार कल्पना खरेलको उपन्यास ‘भृकुटीतारा’ लोकार्पित भएको छ । अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि अभिनेता श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताए ।

प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गरे भने अनेसासकी पूर्वअध्यक्ष गीता खत्रीले आफू तीब्बत क्षेत्रमा केही समय बस्दाको अनुभव सुनाइन् ।

उपन्यासकार खरेलले आफूले उपन्यास लेख्दा गरेको मिहिनेत र अनुसन्धानबारे जानकारी दिइन् भने आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकारहरू प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, सन्ध्या पहाडी, डा. सदानन्द कडेल, डा. दामोदर पुडासैनी किशोर, शंकर भारती लगायतले कृतिको चर्चा गरे ।

उपन्यास मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । यसअघि खरेलका केही उपन्यास, कथा र गीतका कृति प्रकाशित छन् ।