काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया प्रतिष्ठानकै देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्य पुस्तकको अध्ययन अध्यापनमा त्यतिकै रहेको र यो स्वयंमा ज्ञान तथा सञ्चारको माध्यम भएको बताउनुभयो । कुनै पनि रैथाने भाषाभाषीमा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पार्ने हुँदा यसको महत्त्वलाई सबैले स्वीकार्नु पर्ने उहाँले बताउनुभयो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचीव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधासम्बन्धित नीतिको अभावमा अनुवादकार्य र पठनपाठनमा अन्योल परेको बताउनुभयो । उहाँले भाषा शिक्षण विधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेको चर्चा गर्नुभयो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले उक्त अन्तर्क्रियाको सभाध्यक्षता गर्नुभएको थियो । उहाँले अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताउँदै शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दीगो असर पार्ने बताउनुभयो ।
अन्तर्क्रियामा अनुवादक समाज नेपालका महासचीव डा. ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्य सामग्रीमा अनुवादको महत्त्व बारे बताउनुभयो ।
अन्तर्क्रियाको प्यानलिस्ट छलफलमा डा. प्रकाश तिवारी ,अजम्बरजङ्ग लिम्बू (अमर तुम्याहाङ) र करुणा नेपालले भाग लिनुभएको थियो । प्यानलिस्ट अन्तर्क्रियाको सहजीकरण चन्द्रबहादुर लामाले गर्नुभएको थियो ।
अन्तर्क्रियामा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणका लागि महत्त्वपूर्ण माध्यम भएको बताउनुयो । यसैगरी, अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभई व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रवल रहेको चर्चा गर्नुयो । साथै, उहाँले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
करूणा नेपालले अनुवाद दैनिक जीवनबाट शुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभई प्रत्यक्ष संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गर्नुभयो ।
उक्त अन्तर्क्रियाको सञ्चालन अनुवादक समाज नेपालका सचीव सकुनकुमार जोशीले गर्नुभएको थियो ।
सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।