कवि, गीतकार, निबन्धकार तथा समालोचक डा. रजनी ढकालको ‘लैङ्गिकता र नेपाली साहित्य’ ग्रन्थ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा प्रमुख अतिथि, अतिथिसहित वक्ता तथा लेखकबाट सामूहिक रूपमा कृतिको लोकार्पण भएको हो ।
मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष ई. इन्दु शर्मा ढकालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मनकेश प्रतिभा पुरस्कार समर्पण र उक्त ग्रन्थको पनि लोकार्पण तथा विमर्श भएको छ ।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्याङ्जाका तीन जना स्रष्टा र अनुसन्धाता डा. महेश्वर शर्मा, प्रा.डा. कृष्णप्रसाद न्यौपाने र कवि मित्रलाल पंज्ञानीलाई पुरस्कृत र सम्मानित गरिएको छ । मनकुमारी र केदार शर्मा ढकालले २०६५ सालमा स्थापना गरेको उक्त पुरस्कारबाट हालसम्म स्याङ्जाका आठ जना स्रष्टाहरू पुरस्कृत भएका छन् ।
यसअघि घनश्याम ढकाल, सुकुम शर्मा, चेतन कार्की, देवीप्रसाद वनबासी र गंगा कर्माचार्य पौडेल पुरस्कृत भएका हुन् । विगत केही वर्षदेखि विभिन्न कारणले रोकिएको उक्त पुरस्कार समर्पण काठमाडौँमा आयोजित एउटै कार्यक्रममा सम्पन्न भएको हो । यसपटक २०७५, २०७९ र २०८१ सालका पुरस्कारहरू समर्पण गरिएका हुन् । बीस हजार नगद राशि, सम्मानपत्र र दोसल्लाबाट स्रष्टाहरूलाई पुरस्कृत र सम्मानित गरिएको छ ।
हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार २०७७ सालमा कोरोनाका कारण दिन नसकिएको जानकारी कार्यक्रममा गराइएको थियो ।
उक्त कार्यक्रममा ‘लैङ्गिकता र नेपाली साहित्य’ अनुसन्धानमूलक ग्रन्थका बारेमा प्रा.डा. रमेशप्रसाद भट्टराई र उपप्रा. अमृता शर्माले आफ्नो पाठकीय दृष्टिकोण राखेका थिए । प्रा.डा. भट्टराईले लैङ्गिक चेतनाको विकास घर परिवारभित्रैबाट हुने कुरा बताउँदै लेखकका बुबाले सानैमा दिएको कमला भासिनको पुस्तकको सन्दर्भ जोड्दै स्पष्ट पारेका थिए ।
यसैगरी, लैङ्गिक अध्ययन मानिसको समग्र विकाससँग जोडिएको अध्ययन भएको र यस्तो दृष्टिकोण राख्न समालोचक सफल भएको विचार भट्टराईले प्रस्तुत गरेका थिए । यसैगरी शर्माले पुस्तकमाथि सूचनामूलक टिप्पणी प्रस्तुत गरेकी थिइन् । पुस्तक लैङ्गिकताको अध्ययनका लागि उपयुक्त सामग्री बनेको पनि विचार प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथिको मन्तव्यका रूपमा प्रा.डा. गणेशमान गुरुङले आफू पोखरादेखि काठमाडौँ आएर गहन बौद्धिक कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित भएको र समालोचकले निकै मिहिनेत गरेर नेपाली साहित्यको अनुसन्धान गर्दै अगाडि बढेकोमा खुसी प्रकट गरेका थिए । पुरस्कार संस्थापकहरू मनकुमारी र केदार शर्माको देहवसानपछि पहिलो पटक उक्त कार्यक्रम सम्पन्न भएको थियो । आफ्ना मातापिताले स्थापना गरेको पुरस्कारलाई निरन्तरता दिएर कार्यक्रम सम्पन्न गर्न सकेको खुसी प्रतिष्ठानका अध्यक्ष ई. इन्दु शर्माले प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा मनकेश प्रतिष्ठानका बारेमा डा. तर्कन शर्माले परिचयात्मक प्रस्तुति दिएकी थिइन् भने तीन जना पुरस्कृत स्रष्टका बारेमा डा. रमेश शुभेच्छुले परिचयात्मक मन्तव्य राखेका थिए । प्रतिष्ठानकी कोषाध्यक्ष डा. रजनी ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रतिष्ठानका सचिव प्रेम लुइँटेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।