लुभेन, बेल्जियम। बेल्जियमनिवासी साहित्यकार पंचम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ बेल्जियममा सोमबार विमोचन गरिएको छ । कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’को काठमाडौंमा पहिलो लोकार्पण गरिएको थियो भने लेखकको कर्मभूमि बेल्जियममा यसको गृह विमोचन गरिएको हो ।
बेल्जियमको लुभेनमा आयोजित गृह विमोचन समारोहमा बेल्जियम तथा युरोपेली संघका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, पूर्व अध्यक्ष प्रेम गुरूङ, उपाध्यक्ष काशी दनाई, आइसीसी सदस्यद्वय मदन दवाडी र हरि भट्टराई, जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तीमगर, चर्चित सञ्चारकर्मी दिलनिशानी मगरसहित लेखक अधिकारीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।
एनआरएन संघ बेल्जियमद्वारा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले ‘प्रवासीको देश हुन्न’ पठनीय र सङ्ग्रहरणीय भएको बताएका छन् । सो अवसरमा पुस्तकबारे समीक्षात्मक मन्तव्य राख्दै सञ्चारकर्मी दिलनिशानी मगरले ‘प्रवासीको देश हुन्न’ ले युरोपका नेपालीको कथा र व्यथालाई चित्रित मात्र नगरेर यहाँका नेपालीहरूमा विकसित हुँदै गरेको नयाँ खालको जीवनशैलीलाई सिर्जनात्मक गद्यका रूपमा वर्णित पनि गरेको उल्लेख गरे।
त्यस्तै, विमोचनपछि मन्तव्य राख्दै राजदूत राजभण्डारीले भने, ‘लेखक अधिकारीले साहित्यिक नजर र रूप भेदबाट प्रवासीको देश हुन्न भन्दै गर्दा आख्यानको अर्को पाटोमा प्रवासीको दुई देश हुन्छ, र बहुआयामिक दायित्व हुन्छ भन्ने सन्देश पनि दिन खोजेको हुन सक्छ ।’
त्यसैगरी एनआरएन संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले भनिन्, ‘बेल्जियमनिवासी लेखक अधिकारीको लेखन स्तरीय रहेकोले प्रवासी साहित्यमा एक मानक बन्न पुगेको र यस्तो लेखनलाई प्रोत्साहन गर्न हामी कटिबद्ध छौं ।’
सङ्ग्रहमा १४ वटा कथा समावेश छन् । दुई दशकदेखि बेल्जियममा बस्दै आएका अधिकारीको यो दोस्रो कृति हो । यसअघि उनको ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।