काभ्रे । कवि सूर्य लाकोजूको नवीनतम कविताकृति ‘घामको पर्खाल’ लोकार्पण भएको छ । एक समारोहका बीच साहित्यकार प्राडा. गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, समालोचक प्राडा. कुमार कोइराला, ध्रुव मधिकर्मी तथा कवि लाकोजूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै समालोचक ध्रुव मधिकर्मीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकोजूको प्रस्तुत कविताकृति वर्तमान नेपाली समाजको एउटा बिम्ब भएको बताए । उनले भने, ‘असन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाहरूको प्रतिनिधि आवाज पनि हो । मानवीय संवेदना र यथार्थबोधी भावना निहीत कविताहरू समेटिएको कवितासङ्ग्रह नेपाली साहित्यको पठनीय कृति हो ।’

अर्का समालोचक प्राडा. कुमार कोइरालाले सूर्यका कविता सरल देखिए तापनि त्यसभित्र गाम्भीर्यता हुनु उनको विशेषता भएको मत राखे ।

कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले लाकोजूका कविता बलशाली रहेको विचार व्यक्त गरे ।

‘सूर्य चम्किलो र उज्यालो छ, उनको साहित्य यात्रा पनि निक्कै उज्यालो छ । उनको उज्यालो निक्कै पर पुगेको छ ।’ भन्दै समालोचक प्राडा. गोविन्दराज भट्टराईले आफ्नो मन्तव्य राखे ।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन् ।