डिजी शर्मा ।  साहित्यकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास  ‘प्रिय स्वप्नद्रष्टा’ माथि काठमाडौंमा शनिबार एक समारोहका बीच परिचर्चा तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यकार माया ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का साहित्यकार हेम भण्डारीले प्रमुख वक्ताको रुपमा कृतिमाथि संक्षेपमा समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार भण्डारीले राजनीतिक  कुसङ्गत, राष्ट्रिय स्वाधिनता, सांस्कृतिक विषयहरूको गहन अध्ययनमा केन्द्रित रहेको यस उपन्यासले नेपाली साहित्यको क्षेत्रमा विकसित हुन नसकेको कृषि साहित्यको समेत उजागर गरेको बताउनुभयो ।

उपन्यास देउमाई झैँ शुललित भावमा बगेको, भाषाशिल्पी प्राञ्जल रहेको र बिम्बहरूको यथेष्ट प्रयोगले उपन्यास पढ्दा यसले ध्यान केन्द्रित गर्ने उहाँको धारणा थियो ।

त्यसैगरी कवि उमेश अकिञ्चनले उपन्यास पढिरँदा प्रेमको बाछिट्टाले आफूलाई भिजाउनुका साथै प्रेममा कोही पनि निवृत्त हुन नसक्ने उपन्यासको सन्देश मन परेको बताउनु भयो ।

धेरैपछि आफूले पढ्न चाहेको जस्तो उपन्यास पढ्न पाएको भन्दै उहाँले उपन्यासको भाषाशिल्प काव्यिक रहेकोले कथाले तानेको बताउनुभयो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै कवि तथा अधिवक्ता पेशल कुमार लुईँटेलले उपन्यासमा सपनाको आयतन र आदर्श शिल्पीको दूरी टाढा नभएको, सामाजिक न्यायलाई शक्तिले प्रतिरोध गर्ने क्रममा कथाका पात्रहरूको भूमिका यथोचित भएको उल्लेख गर्नुभयो ।

न्याय प्रचलनको शिलशिलामा हुने गरेका विकृत प्रकृयाहरूलाई लेखनको गोरेटो हुँदै मूल बाटोसम्म ल्याउन लेखक सफल भएको कवि लुईँटेलले उल्लेख गर्नुभयो ।

त्यस्तै, साहित्यकार तथा पत्रकार रेणुका भट्टराईले यस उपन्यासले समस्या मात्र नभई समाधानको बाटो पनि देखाएको कुरा व्यक्त गर्नुभयो  । साहित्यकार रीता खत्रीले उपन्यासभित्रबाट हृदय स्पर्शी हरफहरू वाचन गर्दै कार्यक्रमलाई रोमाञ्चक बनाउनुभएको थियो ।

कवि शान्ता राई र कमला शाक्यले लेखकलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा कविहरु ललिता दोषी, प्रोल्लास सिन्धुलीय, भैरवी भूगोल, बलराम दाहाल, सबिना सिन्धु, राज रजक लगायतको उपस्थिति रहेको थियो । महिलाहरुको साहित्यिक संस्था “गुञ्जन” ले कार्यक्रमको आयोजना गरेको थियो ।

साहित्यकार क्रान्ति पराजुलीको उपन्यास “प्रिय स्वप्नद्रष्टा” गत जेठ १५ गते काठमाडौंमा आयोजित एक समारोहका बीच  लोकार्पण गरिएको थियो । यसअघि २०७६ सालमा उहाँको पहिलो उपन्यास “डिलको डोब” प्रकाशित छ ।

झापाको चारपानेमा जन्मिनुभएकी साहित्यकार पराजुली लामो समयदेखि राजधानीमा बसेर लेखनमा सक्रिय हुनुहुन्छ । पेशाले उहाँ कानुन व्यवसायी हुनुहुन्छ ।