काठमाडौं । नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन् । समाजको १८ औं साधारण सभा तथा १० औं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले रोदनको नेतृत्वमा आगामी २ वर्षका निम्ति उपाध्यक्षमा डा. षडानन्द कंडेल, महासचीवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी, सचीवमा प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव बिडारी, रञ्जना निरौला र डा. शान्तिमाया गिरी निर्विरोध निर्वाचित भए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा बैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा समाजले धेरै काम गरेको बताउँदै विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुद बनाउन लागि परेकोमा खुशी व्यक्त गरे ।
खुला सत्रमा नेपाल बंगलादेश फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भइरहेको बताए । उनले बंगलादेशमा हमेशा नेपाली साहित्यकारहरूको स्वागततार्थ तत्पर रहेको बताउँदै अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकारद्वय तथा समाजका सल्लाहकार रोचक घिमिरे र नगेन्द्रराज शर्माले शुभकामना मन्तव्य राखे ।
यसैगरी, पूर्व बंगलादेशका राजदूत, अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबीच धार्मिक, साँस्कृतिक, भाषा साहित्यमा समानता रहेको धारणा राख्दै अधिवेशनको भव्य सफलताको कामना गरे । भारत, बंगलादेश, चीनलगायतका छिमेकी मुलुकहरू बीच साहित्यिक भ्रमणसँगै आदानप्रदान भइरहेको कार्यको निम्ति उनले प्रशंसा गरे ।
बंगलादेश दूतावासका प्रथम सचीव हुमायुन कबीरले शुभकामना व्यक्त गरे भने चिनियाँ साँस्कृतिक केन्द्रले पठाएको लिखित शुभकामना मन्तव्य वाचन गरेर सुनाइएको थियो ।
समाजका उपाध्यक्ष चेतनाथ कंडेलले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए भने सञ्चालन महासचीव देविका तिमिल्सिनाले गरेका थिए ।
बन्दसत्रले महासचीवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो भने विधान संसोधन समितिले पेश गरेको संसोधन प्रस्ताव समेत पास गरेको थियो ।
बन्दसत्रमा निर्वाचन समितिका संयोजक पवन आलोक, सदस्य विधान आचार्य र प्रा.डा. लक्ष्मणप्रसाद गौतम रहनुभएको थियो । निर्विरोध निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचन समिति संयोजकले प्रमाणपत्र वितरण गरी सपथ ग्रहण गराउनुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।