नयाँ दिल्ली । नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्ने माग गरेका छन् ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थित नेपाली राजदूतावासको बिपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजित कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए ।
भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसका लागि पत्रकारिताले अहम् भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दुतावासले हरेक कार्यक्रममा महिलाको सहभागिता र सहकार्यमा उत्साहित भएर काम गर्दै आएको जानकारी दिनुभयो ।
डा. थापाले आफू नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केही दिनअघि दूतावास परिसरमा रामलीलाको मन्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो । रामसीताको मिलनले दुई देशबीचको सम्बन्ध थप बिस्तार भएको भन्दै उहाँले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताउनुभयो ।
त्यस्तै, इन्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि सङ्ख्या विस्तारै बढ्दै गए पनि स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा विभिन्न चुनौती खेप्नुपरेको बताउनुभयो । नेपाल र भारतबीचका पत्रकारले सहकार्य गरी एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गनुभयो ।
प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले २ देश बीचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छफफल आवश्यक हुने बताउनुभयो । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्याउन सधैं तत्पर रहेको समेत सुनाउनुभयो । इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु) का महासचीव कविता अधिकारीले लोकतान्त्रिक विकास दुवै देशमा भए पनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता वेदप्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
अन्तर्क्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाह लगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभब आदान प्रदान गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।