रहेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।

हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. मधुरस – मधुश्री

‘फूल बनी फुल्न पनि कहीं पाइएन
खोजी रहें खुशी कतै भेट्न सकिएन ।
आफैंभित्र मधुरीमा केही पाइएन
जीवनमा मधुमास पनि पाइएन ।।

फूल फुल्दा मिथ्या लाग्यो जवानी नै तितो
यो मन मुटु छामी हेर्छु जताततै रित्तो
माया झुटो हो कि आफू केही जानिएन
आफैंभित्र मधुरीमा कतै पाइएन
जीवनमा मधुमास पनि पाइएन ।

सुख दुःख आपसमा किन हुन्थ्यो मेल
द्वान्द्व चल्यो आफैंभित्र बग्न थाल्यो भेल
एउटै मुहान भए पनि मिल्न सकिएन
आफैंभित्र मधुरीमा कहीं पाइएन
जीवनमा मधुमास पनि पाइएन ।
(पाइएन मधुमास, पृ. ७)

प्रा.डा. उर्मिला प्याकुरेल ‘मधुश्री’को काव्यसङ्ग्रह हो ‘मधुरस’ । यस सङ्ग्रहमा १२६ थान कविता तथा गीत सङ्ग्रहित छन् । सङ्ग्रहित कविताहरूमा राष्ट्रियताको चेत, वर्ग विभेदप्रतिको विद्रोह र प्रगतिशीलता, हिंसा र हत्याको विरोध, मानवता, विश्वबन्धुता र युद्धको विरोध तथा शान्तिको आग्रह जीवन्त रूपमा पाइन्छ ।

‘प्रस्तुत कृति मधुरसमा मधुश्रीका कविता, गीत र गजल सङ्ग्रहित छन् । कवितामा पनि पद्य र पद्यमा पनि वार्णिक र मात्रिक दुवै छन्दमा छन् ।’, पुस्तकको भूमिकामा केदार वाशिष्ठ लेख्छन्, ‘मुक्त लयका गद्य कविता उत्तिकै सशक्त रहेका छन् । त्यस्तै गीतमा पनि लोक तथा आधुनिक लयका साथै दोहोरी पनि रहेका छन् । सङ्ग्रहको संरचनाका आधारमा पद्य कविता, गीत र गजललाई एक खण्डमा, गद्य कवितालाई अर्को खण्डमा र एउटा लामो दोहोरी गीतलाई अर्को एक खण्डमा समावेश गरिएको छ ।’

पुस्तकलाई प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले प्रकाशनले ल्याएको हो । १ सय ७४ पृष्ठमा फैलिएको पुस्तकको कुनै मूल्य तोकिएको छैन ।

===

२. उज्यालो औंसी – अनिता कोइराला

पछिल्लो समय आख्यान तथा गैरआख्यानका विधामा सशक्त रूपमा कलम चलाइरहेकी लेखक अनिता कोइरालाको पहिलो कृति हो उपन्यास ‘उज्यालो औंसी’ । पुस्तकमा मूल पात्रको क्रमिक शिक्षाले फराकिलो हुँदै गएको दृष्टि, यौवनको बतास, असल गुरुको सङ्गत, जीवनका अँध्यारामा आध्यात्मिक प्रकाशले पारेका प्रभावहरू प्रखर रूपमा आएका छन् ।

‘यो आख्यान आधी वास्तविक छ आधी फेन्टासी अर्थात् स्वरैकल्पना, स्वप्न र भ्रान्तिको प्रयोग कलात्मक छ ।’, पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘भ्रूणावस्थाको स्मृति तथा चेतना जस्ता अलौकिकताले एक नवीन कला आरोपित छ । आदिदेखि अन्त्यसम्म आफ्ना कल्पनाका पिता साथै हुन्छन् । एक प्रकारले मायिक यथार्थको दृष्टिले पनि यसको विश्लेषण हुन्छ । अति भय र सन्त्रासले, व्यक्ति हत्या र सर्वनाशको कथाले गर्दा वर्तमान विश्वको छाया देखिन्छ । नेपालले पनि यो मृत्युलीला देख्यो, भोग्यो । त्यसैले अनिता जस्ता समकालीन लेखकले त्यो सत्य प्रकट नगरी रहन सक्दैनन् ।’

त्यस्तै, उपन्यासकार अनिता रचनागर्भमा लेख्छिन्, ‘सानै उमेरमा विवाह भयो । साँच्चै गर्भेटुहुरीको भाग्य बलियो रहेछ । किताबलाई प्रेम गर्ने शिक्षाप्रेमी जीवनसाथीको साथ र प्रेरणाले अध्ययन रोकिएन । विवाहपछि पनि पढाइ अगाडि बढिरह्यो । स्नातक पढ्दापढ्दै एक्काइस वर्षमा छोरी जन्मिन् तर पनि अध्ययन रोकिएन । घर, व्यवहार र छोरीको जिम्मेवारी बढ्दो थियो । तर पनि किताब हातबाट छुटेन । घरै बसेर समाजशास्त्रमा स्नातकोत्तर गर्न सकिन्छ भन्ने आँट दिने दिदी शर्मिला कोइरालालाई अहिले म सम्झिरहेकी छु ।’

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ८४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ७५ रुपियाँ रहेको छ ।

===

३. परतन्त्र – सुरेन्द्र शाही ‘गुलाब कान्छो’

‘भर्खरको बिरुवा यो राम्रोसँग हुर्काउनु छ ।
जलमल गरेर नै सुन्दर बनाई फुलाउनु छ ।।
चिल्लो पात हुने बिरुवाको भन्दछन् भन्नलाई,
अब यही बिरुवामा मीठो फल फलाउनु छ ।।’
(मुक्तक ९)

नेपाली साहित्यमा स्नातकोत्तर साहित्यकार सुरेन्द्र शाही ‘गुलाब कान्छो’को मुक्तक सङ्ग्रह हो ‘परतन्त्र’ । सङ्ग्रहित मुक्तकहरूले मीठो स्वादका छन्, साथै यी मुक्तकहरूले चेतना संवाहकको काम पनि गरेका छन् ।

‘मुक्तककारले यस सङ्ग्रहभित्रका मुक्तकमार्फत् एकातिर देश निर्माणका लागि एकजुट हुन आग्रह गरेका छन् भने अर्कातिर देशमाथि कालो बादल मडारिन्छ कि भन्ने आशंका पनि व्यक्ति गरेका छन् ।’, भूमिका शुभराज पाध्याय तिमिल्सेना लेख्छन्, ‘देशद्रोहीहरूलाई समयमै किनारा लगानुपर्छ भन्ने मान्यता समेत उनका मुक्तकमा भेटिन्छन् । प्रत्येक देशभक्त नेपालीले देशको सीमा रक्षाका लागि सङ्घर्षमा लाग्नुपर्ने दिन आइसकेको सङ्केत उनले गरेका छन् ।’

‘तिम्रै ओखती डाक्टरले मलाई लेखेपछि ।
अमृत बन्न मन लाग्यो हजुरलाई भेटेपछि ।।
अब आनन्द मिल्ला नि ए मेरो प्यारो हजुर,
माया प्रेमले सदाभर मलम भइसकेपछि ।।
(मुक्तक १३)

पुस्तकलाई महेश शाहीले प्रकाशनमा ल्याएका हुन् । १ सय ५५ मुक्तक सङ्ग्रहित पुस्तकको मूल्य १ सय ५ रुपियाँ रहेको छ ।

===

४. वाणीका बान्की – प्रह्लाद पोख्रेल

‘न्यानो मुस्कान होला सहृदय रहने व्यक्तिको विश्वभाषा
यस्तो राम्रो हँसाइ प्रतिनिधि तहको हुन्छ सौजन्य खासा !
साझा वाणी र भाका असल हृदयको दिन्छ मुस्कान एक
मीठो मुस्कान मिल्दा अझ सहृदयतासाथ जाग्ला विवेक !

(A warm smile is the universal language of kindness. – William Arthur Ward)
(पृ. २७)

अङ्ग्रेजी सूक्तिहरुको पद्यानुवाद ‘वाणीका बान्की’ प्रह्लाद पोख्रेलको पुस्तक हो । नेपाली कवितामा बहुप्रचलित छन्दहरुमध्ये अधिकांशको प्रयोग गरी तयार गरिएको ‘वाणीका बान्की’मा पोख्रेलको काव्यिक अनुवादक प्रशंसायोग्य छ ।

‘सामान्यतया अनुवाद एक अपजसे काम हो भनिन्छ । तर, प्रह्लाद पोख्रेलजीले गरेको यो काम मूल सूक्तिहरुको अनुवाद र भावानुवाद मात्रै होइन, अनुसिर्जना हो ।’, भूमिकामा जयराज आचार्य लेख्छन्, ‘गत दुई दशक यता नेपाली पद्यकविताको पुनर्जागरणमा प्रह्लादजीको र अन्य धेरैको ठूलो योगदान देख्दा मलाई खुशी लागेको छ । बडो मिहिनेत, लगनशीलता, समर्पणभावले काम गरेर प्रह्लाद पोख्रेलजीले यो कृति नेपाली पाठकलाई दिनुभएको छ ।’

त्यस्तै प्रकाशकका तर्फबाट कोकगोष्ठी परिवार लेख्छ, ‘अङ्ग्रेजीका सूक्तिहरुमा रहेको गहनतम भावलाई नखज्मज्याई अझ कलात्मक सौन्दर्य थप्ने कविले यहाँ अनुवाद–कलाको जुन जादु देखाएका छन् त्यो अत्यन्तै अनुकरणीय, ग्राह्य र अनुसरणीय पनि छ ।’

पुस्तकलाई कोकगोष्ठी, काठमाडौंले प्रकाशनमा ल्याएको हो । ३ सय ७४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ५५ रुपियाँ रहेको छ ।