कोरियन कवि मुन छाङ्गीलको एकल कविता वाचन पोखरामा सम्पन्न भएको छ । कविता क्लब नेपालद्वारा आयोजित सो कार्यक्रममा कविले आफ्ना सुन्दर आठ कविताहरू वाचन गरेका थिए ।
मुनले आफ्ना रचनाहरूमार्फत कोरियाली समाजको गरीब, पीडित वर्ग र श्रमिकहरूको आवाज तथा अभिभावक र बालबालिका बीचका प्रेम, दुःख, आशा-भरोसालाई उजागर गरेका छन् । बालसाहित्य र प्रौढ साहित्य दुवै समेटिएका छाङ्गीलका कविताहरू कवि प्रमोद सारङ्गले उल्था गरेका थिए ।
दुर्गा शाह ‘बाबा’, रमेश श्रेष्ठ, प्रमोद सारङ्ग, असफल गौतमलगायत स्रष्टाहरूको आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कोरियन कवि छाङ्गीललाई रमेश श्रेष्ठ र दुर्गा शाह ‘बाबा’ले खादा ओढाएर सम्मानㅡपत्र अर्पण गरेका थिए । कार्यक्रम प्रमोद सारङ्गले उदघोषण गरेका थिए ।
छाङ्गील यथार्थवादी र प्रजातन्त्रवादी लेखक हुन्। उनी लेखन र प्रकाशनमा सक्रिय छन् । अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनमा कोरियाबाट अतिथि लेखकका रूपमा आएका छाङ्गीलले “कोरियाली बालसाहित्यको रूपरेखा: वर्तमान र भविष्य ” शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रको अनुवाद नेपाली कवि एवम् अनुवादक प्रमोद सारङ्गले प्रस्तुत गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।