काठमाडौं । किशोर साहित्य कथा ‘भद्रगोल डायरी’ कथालय इन्कबाट हालै प्रकाशनमा आएको छ । नुस डोमबाइकको कथा र उनकै चित्र समावेश कथाको नेपाली अनुवाद हो ।
यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ । यो आँटिली केटी समाजले छोरी मान्छेप्रति लादेको गलत भाष्य परिवर्तन चाहन्छे र दिनहुँजसो डायरीमा आफ्ना भाव व्यक्त गरिरहन्छे ।
डायरीमा उसले आफूलाई नढाँटीकन प्रस्तुत गरेकी छ भने आफ्ना साथीभाइ र परिवारका सदस्यलाई पनि सहज रूपमा स्विकार गरेकी छ । ऊ केटाहरूको लुगा लगाउन चाहन्छे, केटा–विशेषले खेल्ने खेलमा रुचि राख्छे । खासमा ऊ केटी मान्छे भनेर हियाउने परम्पराप्रति विद्रोह गर्न चाहन्छे ।
हतपती कपाल नकोर्ने, स्कुलबाट आएर युनिफर्म फुकालेर कोठामा जथाभावी राख्ने, मोजा नधुने तथा कोरीबाटी र शृंगारमा पनि ध्यान नदिने बबिनाले आफ्नो स्वभावमा परिवर्तन ल्याउली ? यसमा उनका साथीहरूले कत्तिको सहयोग गर्छन् ? यस्तै जिज्ञासा मेटाउने कथाले उसको मनोविज्ञानलाई पनि प्रस्तुत गरेको छ ।
यस कथाकी लेखक नुस डोमबाइक हुन् । उनले कम्प्युटरसम्बन्धी पनि अध्ययन गरेकी छन् । सानैदेखि लेखन र चित्रकलाका रुचि भएकी डोमबाइकको पहिलो पुस्तक ‘लिटल लेडिज इन द किचन’ हो । त्यसमा पनि उनी आफैंले चित्र बनाएकी छन् । उनका ‘द चिल्ड्रेन अफ रामादाहन’, ‘द ग्रान्डचाइल्ड अफ एन इन्भेन्टर,’ ‘द गिम्पी किड’ लगायत २३ पुस्तक प्रकाशन भइसकेका छन् । उनको पछिल्लो पुस्तक ‘ह्याकर नाइन’ टर्किसमा छापिनुअघि कजाखस्तानबाट कजाख र रसियन भाषामा प्रकाशन भएको छ ।
यस पुस्तकलाई बालिका थपलिया र जयप्रसाद लम्सालले अनुवाद गरेका हुन् । पुस्तकको सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् । १२६ पृष्ठ रहेको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।