युरोप । अनेसास बेल्जियमको आयोजनामा आन्त्वेर्पेन शहरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपालबाट आउनुभएका प्रगतिशील साहित्यकार तथा सौन्दर्य दर्शनका लेखक निनु चापागाईं र कवि, पत्रकार तथा गीतकार संगीत श्रोताको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सभापतित्व च्याप्टरका उपाध्यक्ष लोकनाथ शर्माले गरेका थिए ।

राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रम परिचय हुँदै अघि बढेको थियो । कार्यक्रममा श्रष्टाहरूले कविता वाचन गरेका थिए । कवि तथा नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष संगीत श्रोताले आफ्नो लोकप्रिय गीत ‘चरी लैजा समाचार’ गाएर सबैलाई भावुक बनाएका थिए ।

अनेसासका उपाध्यक्ष लोकनाथ शर्माले अतिथिद्वयलाई खादा लगाएर सम्मान गरे । जन प्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेलबाट सौजन्य प्राप्त मायाको चिनो समेत अतिथिद्वयलाई प्रदान गरियो ।

अनेसास बेल्जियमका संस्थापक सचीव शंकर बजगाईं, संस्थापक उपाध्यक्ष विमल गिरी, सल्लाहकार ब्रह्म वाग्लेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित बहस शुरु हुनु भयो । बहसको विषय सौन्दर्य चिन्तन, सुन्दरताका विविध पक्ष रहेको थियो ।

नेपाली प्रगतिशील मोर्चा युरोप र प्रवासी मञ्च युरोपबाट शालिक थपलिया तथा बिष्णु भुजेल कार्यक्रममा आउनुभएको थियो । त्यस्तै, नेपाली साहित्य क्षेत्रका दुई हस्तीहरूको सम्मानमा एनआरएनएका पूर्वअध्यक्ष चित्र सुवेदी,ओएनयफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, नेत्रीद्वय सावित्री गिरी तथा शुशीला खतिवडाको कार्यक्रममा उपस्थिति रहेको थियो ।