– अभियान

आन्दोलनले सत्य स्थापित गर्छ । सत्य स्थापना गर्न हामी हरेक कसरत गर्दछौं । त्यो कसरत आन्दोलन हो । आन्दोलन भन्नेबित्तिकै ढुङ्गा हान्ने, नारा र जुलुसमा आक्रोस पोख्ने भन्ने बुझाइ छ । आज नारा, जुलुस र आक्रोस आन्दोलनको पर्याय बनिसकेको छ । तर, सालीन र बौद्धिक तरिकाले गर्न सकिने आन्दोलनको बाटो अबको आन्दोलनको बाटो हो । यस्तै सालीन र बौद्धिक आन्दोलन हामी मुक्कुमलुङ नाटकबाट सिक्न सक्छौं ।

नाटक हेरेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेर नयाँ बाटोबाट पनि आन्दोलन गर्न सक्ने रहेछ भन्ने महसूस गर्न सक्छौं । आन्दोलनको नयाँ बाटो पत्ता लगाउन हामीले मुक्कुमलुङको सांस्कृतिक आन्दोलन हेरेर सिक्न सक्छौं । जसले ज्ञानको उथलपुथल गर्ने छ । विवेकले भरिएको र ज्ञान प्रयोग गरेर गरिएको पर्यत्नबाट पूर्वको संस्कृतिलाई आममा स्थापित गर्दै नयाँ ढाँचाबाट देखाउन अहिले शिल्पी नाटकघर बत्तिसपुतलीमा मञ्चन भइरहेको नाटक हेरेर महसूस गर्न सक्छौं ।

मुक्कुमलुङ नाटकको विशेषता नै सांस्कृतिक आन्दोलन हो । हामी भन्छौं, मेरो पहिचान मेरो चिनारी हो । वास्तवमा हरेक समुदायको पहिचान भनेको उसको भाष, संस्कार, संस्कृति हो । भाषा, संस्कार, संस्कृति र जीवन पद्धतिले हरेक समुदायहरूलाई चिनाउने काम गरेको हुन्छ । मुक्कुमलुङ नाटकमा पूर्वी नेपालमा बसोवास गर्ने लिम्बू समुदायको सिंगो संस्कृतिलाई उठाएको छ । केलाङ, जारी, विवाह संस्कार, पालाम, पात बजाइ, हाक्पारे, मुन्धुम, यालाङ, मृत्यू संस्कार, अकाल मृत्यूमा हुने संस्कार, डोलीभर्ना प्रथा लगायत लिम्बू जातीमा रहेका अधिकांश संस्कार र संस्कृतिहरू एउटै मञ्चमा देख्न पाइने ठाउँ भनेको मुक्कुमलुङ नाटक हो । पूर्वी नेपालको सिङ्गो संस्कार र संस्कृतिलाई काठमाडाैंमा पुराएर आम जनसमुदायमा देखाउन पाउनु र आम समुदायले सुदूर पूर्वको रहनसहन काठमाडौंमा हेर्न पाउने काम आफैंमा एउटा महत्त्वपूर्ण आन्दोलन हो ।

नाटकले पूर्वी हिमाली क्षेत्र मुक्कुमलुङ आसपासको माटोको कथा बोलेको छ । त्यहाँ बसोवास गर्ने मान्छेहरूको सिंगो कथा भनेको छ । त्यसका साथै मुन्धुममा मान्छेहरूले मुक्कुमलुङप्रति पोख्ने भक्ति भाव पोखेको छ । सेमुक्तु मुक्तिकोक्मा मुक्कुमलुङ प्रति मान्छेहरूले गर्ने व्यवहारले आजित भएको मानसिकता र मान्छेहरूले गरेको दुषित व्यवहारले देवीमा पर्न गएको असरबारे बौद्धिक र सालीन तवरले बुझाउन खोजेको छ ।

समाज भन्न साथ हामी सर्वश्रेण्ठ प्राणीको जमात भनेर बुझ्ने गर्दछौं । हामी सामाजिक प्राणी भएकाले समाजमा हुने सबै किसिमका प्रणाली स्वीकार गर्न सक्नु पर्दछ । समाजमा रहेका सम्पूर्ण समुदायका आ–आफ्ना पहिचान झल्काउने संस्कार संस्कृति रहेका छन् । एकको पहिचान अर्का जातिले स्वीकार गर्न सक्नु बन्धुत्व हो । सबैको संस्कृतिको स्वीकार गर्नु बन्धुत्व हो । त्यसैले मुक्कुमलुङ नाटकको आन्दोलन पनि बन्धुत्व विकासको निम्ति नीति निर्माणकर्ताहरूलाई खबदारी हो । एक समुदाय र अर्को समुदाय बीच एउटै मालामा बाँध्ने कँसी हो । यो जाति–जाति बीचको गालीगलोज गर्ने र समाजिक सद्भाव बिथोल्ने अभियान्ताहरूको चुनौतिविरुद्ध सालीन र बौद्धिक आन्दोलनबाट सामाजिक न्याय स्थापित गर्दै बन्धुत्वको कसीमा बाँधेर सबैको अस्तित्व समान हुनुपर्दछ र सबैको पहिचान स्वीकार गर्न सक्नुपर्दछ भन्ने नयाँ आन्दोलनको अभियान हो । सबै जातिको पहिचान सुरक्षित हुनु सक्नुपर्छ यसमा राज्यले गर्ने व्यवहार सही हुनुपर्छ भन्ने आन्दोलन हो ।