माधव पोखरेल गोज्याङ्ग्रे, उदयपुर । प्रगतिशील लेखक सङ्घ नेपाल, जिल्ला शाखा उदयपुरले गाईघाटमा ७३ औं प्रलेस स्थापना दिवसको अवसरमा दुई जना स्रष्टालाई सम्मान गर्नुका साथै रचना वाचन कार्यक्रमसमेत गरेर प्रलेसको स्थापना दिवस मनाएको छ ।

गाईघाटस्थित नेपाल निजामती कर्मचारी संगठनको सभाहलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि त्रियुगा जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कैलाश कुमार राईले अहिलेको अवस्थामा सबैले आफूलाई प्रगतिशील विचारको ठान्ने तर व्यवहारमा आफूलाई परिवर्तन गर्न नसक्दा प्रगतिशील शब्द नै संकटमा परेको विचार व्यक्त गर्नुभयो ।

प्रलेसका संस्थापक स्व.श्यामप्रसाद शर्माले जुन उद्देश्य र लक्ष्यका साथ प्रलेसको स्थापना गर्नुभएको थियो त्यो आजसम्म पुरा हुन नसकेको बताउनुभयो । उहाँले नेपालका प्रगतिशील लेखकहरूले पहिले आफूलाई विचार तथा तार्किक क्षमतामा परिपक्क बनाएर श्रमजीवी जनता र मजदूर वर्गको हितमा कलम चलाउनु आजको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय सदस्य राममणी पोखरेल, शारदाप्रसाद भट्टराई, कुबेरकान्त काफ्ले, मधुकर थापा, हर्कनारायण श्रेष्ठ, टंकबहादुर आले मगर, फडिन्द्र बिश्वकर्मा, श्याम प्रसाद ढुङ्गाना, सीमा कुमारी मास्के लगायतका दुई दर्जनबढी स्रष्टाहरुले रचना वाचन गर्नुका साथै शुभकामना मन्तव्य दिनुभएको थियो ।

सो कार्यक्रममा प्रगतिशील गीत संगीतमा लागेका र त्रियुगा संगीत विद्यालयका निर्देशक तथा सञ्चालक शैलेन्द्र खतिवडा र विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको गजल प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएकी सुमित्रा पोखरेललाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

सम्मानित स्रष्टा शैलेन्द्र खतिवडाले प्रगतिशील तथा जागरण गीत र सुमित्रा पोखरेलले गजल गाउनुभएको थिए ।

कार्यक्रममा त्रियुगा संगीत विद्यालयका भाइबहिनीहरूले विभिन्न प्रकारका जागरण गीत एकल तथा सामूहिक रूपमा प्रस्तुत गरेका थिए ।

प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको सो कार्यक्रममा टिप्पणीकार शारदाप्रसाद भट्टराईले वाचन गरिएका रचनाहरूको बारेमा संंक्षिप्त रुपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन प्रलेस उदयपुरका सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।