
लघुकथाकार नवराज शर्माको लघुकथासङ्ग्रह सन्झ्यालमाथि भक्तपुरमा विमर्श गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा स्रष्टाहरूले नेपाली लघुकथाको वर्तमान अवस्थाका साथै सन्झ्यालमा भएका लघुकथाका विविध पाटोमाथि समीक्षात्मक टिप्पणी गरे ।
कथाकार हरि अभिकारीले यता आएर आफूले नेपाली लघुकथाहरु अध्ययन गर्न थालेको उल्लेख गर्दै स्तरीयताको लागि स्रष्टाहरूले अझ प्रयास गर्नुपर्ने बताउनुभयो ।
कथाकार ध्रुव मधिकर्मीले सन्झ्यालमा भएका प्रायः लघुकथाहरू आर्थिक अभाव, पारिवारिक स्थिति र राजनीतिक विसंगतिमाथि प्रभावकारी रुपमा लेखिएको बताउनुभयो ।
लघुकथाकार खेमराज पोखरेलले सन्झ्यालभित्र समेटिएका लघुकथाको रूपविधानले मानक विशेषतालाई पछ्याउनुका साथै चुस्तदुरुस्त रुपमा बुनिएको बताउनुभयो ।
लघुकथाकार इन्दिरा चापागाइँले स्रेष्टा शर्माका लघुकथाहरू सटिक र व्यंग्यात्मक रहेको बताउनुभयो ।
कृतिका लेखक शर्माले सानो आकारमा जीवनका विविध पक्षलाई व्यक्त गर्नसकिने र छिटै पढिसकिने विधा भएकाले लघुकथाप्रति आकर्षित भएको बताउनुभयो ।
कार्यक्रममा स्रष्टाहरू आरआर चौलागाइँ, दीपक लोहनी, रासा र डा. हिमलाल श्रेष्ठ लगायतले स्रष्टा शर्माका लघुकथा राम्रा र प्रभावकारी छन् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
सन्झ्याल लघुकथासङ्ग्रहमा विविध सन्दर्भमा लेखिएका ६९ वटा लघुकथा छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

