दुईदिने ‘अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन २०८१’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन असोज ४ र ५ गतेमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको हो ।
१२ बुँदे घोषणापत्रमा एकताबद्ध रहने, बालबालिकाका लागि साहित्यिक कृतिको सिर्जना, अनुवाद प्रकाशन र वितरणमा एकअर्कालाई सहयोग गर्ने, बालसाहित्य प्रवर्द्धनका लागि स्थानीय तथा क्षेत्रीय सरकार तथा सङ्घसंस्थासँग समन्वय गर्ने, बालबालिका र साहित्यका सर्जकको अधिकारका पक्षमा उभिने, मातृभाषामा बालशिक्षाका लागि पैरवी गर्ने, अनुवादलाई प्रोत्साहन गर्ने र सरोकारवालालाई समय–समयमा एक ठाउँमा ल्याउने गतिविधि सञ्चालन गर्ने तथा तिनीहरूको अन्तर्दृष्टि र अनुभवहरू साझेदारी गर्ने लगायत बुँदाहरू रहेका छन् ।
सम्मेलनको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठको सभापतित्व र कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन समारोहमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, रुम टु रिडका निर्देशक पुष्करलाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको विशेष आतिथ्यता रहेको थियो ।
सम्मेलन उद्घाटन सत्रमा बोल्दै बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगका कारण नेपालमा पहिलो पटक बालसाहित्य सम्बन्धी सम्मेलन आयोजना सम्भव भएको बताए । उनले यो आफूहरूको पहिलो प्रयास भएकाले केही कमिकमजोरीहरू हुनसक्ने जनाए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो नेतृत्वको नयाँ कार्यसमिति आएपछि धेरै नयाँ कुरा भएको र यसैको निरन्तरतामा पहिलो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन पनि रहेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताए । दुईदिनेसम्म संचालन हुने सम्मेलनले बालबालिकालाई के र कसरी पढाउने तथा कस्तो पाठ्यसामग्री तयार गर्ने भन्ने विषयमा बृहत् छलफल गरिने बताए ।
उद्घाटनमा विभिन्न देशबाट सहभागी बालसाहित्यकारमध्ये केहीले आफ्नै भाषामा र केहीले अंग्रेजीमा मन्तव्य दिएका थिए । त्यसमध्ये जापानी साहित्यकार हारुहितो नोजुले भने नेपालीमै बोलेका थिए ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमल निभाले उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । बालबालिक देशको भोलिको भविष्य भएको हुँदा उनीहरू समग्र विकासमा साहित्यकारहरू भूमिका रहने बताए ।
दुई दिनसम्म चलेको उक्त सम्मेलनमा बालसाहित्यका विविध पक्षबारे लेखिएका महत्त्वपूर्ण शोधपत्रहरू ८ वटा सत्रमा प्रस्तुत गरिएको थियो । कन्ट्री पेपर्स, चिल्ड्रेन लिटरेचर इन इन्डिजिनियस ल्याङ्ग्वेजेज, ग्रुमिङ यंग एण्ड क्रिटिकल रिडर्स, सेलिब्रेटिङ जेनेरिक एण्ड लिंग्विस्टिक डाइभर्सिटी, मार्चिङ विथ कन्टेम्पोरेनिटी, गोइङ ग्रीनः चिल्ड्रेन लिटरेचर एण्ड इन्भाइरोमेन्ट र चिल्ड्रेन लिटरेचरः पोलिटिक्स हिस्ट्री एण्ड कल्चर गरी आठ वटा विषयगत शीर्षकमा कार्यपत्र तयार पारिएको थियो ।
श्रीलङ्काबाट महेश पाथिरत्ना र बीजीएम जनप्रिय, भारतका दीपा अग्रवाल, अतनुकुमार बसु, डा. कविता लामा, डा. दीपेन तामाङ, डा. टेकबहादुर क्षेत्री, अजितकुमार पात्रा र तुल्टुल विश्वास, बङ्गलादेशबाट प्राध्यापक हसनुज्जमान, हुमायूँ कबिर ढाली र रतनचन्द्र पाल, डेनकरबाट स्याली अल्टशुलर, मलेसियाबाट ब्रिगिट रोजारियो, दक्षिण कोरियाबाट मुन चाबगिल, चीनबाट लियाओ सियाओकिन पेङ लुइरोङ, झेङ लिवेई, लिउ दिहोङ, ली मेङवेई, हुआङ चुन्हुआ र वु यिवेई तथा जापानबाट हारोहुतो नोजु तथा प्रमोद प्रधान, त्रैलोक्य मान बनेपाली, गणेश राई, इन्दिरा डाली, नेत्र दाहाल, नेपालबाट डा. चुरामणी बन्धु र महेश पौड्यालले सम्मेलनमा आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनले “Children’s Literature in the Digital Era: Shifting Dynamics” र “Children’s Literature and Translations: Urgency and Bottlenecks” शीर्षकमा दुई प्यानल छलफलहरू पनि आयोजना गरेको थियो । प्रतिमा पाण्डेले सञ्चालन गरेको पहिलो प्यानल छलफल कार्यक्रममा नेपालकी शमीरा राजभण्डारी, बंगलादेशका मोहम्मद जाहिदुल इस्लाम र भुटानका छत्रपति फुएल वक्ता थिए । त्यस्तै, मोनिका लोहनीले सञ्चालन गरेको र नेपाली प्रज्ञा–प्रतिष्ठानको अनुवाद विभागले प्रायोजन गरेको दोस्रो छलफल कार्यक्रममा नेपालका नवीन खतिवडा, श्रीलङ्काका चुलानंद समरनायके, नेदरल्याण्ड्सका मार्लिन एफ वर्ब्रुगे र बंगलादेशका मोहम्मद जाकिर हुसेन वक्ता थिए ।
सम्मेलनले स्कूलका बच्चाहरूको लागि कथा वाचन सत्रहरू पनि आयोजना गरेको थियो । सम्मेलन सञ्चालन समितिका सदस्य शान्ता दाहालको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल र विदेशका कथाकारको सहभागिता रहेको थियो । मलेसियन कथाकार ब्रिगिट रोजारियो र डेनिस कथाकार स्याली अल्टशुलरले केही नेपाली कथाकारसँग मिलेर नेपाली विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका थिए ।
सम्मेलनमा बालसाहित्यको उत्पादन र वितरणमा समर्पित प्रकाशकहरूले पुस्तकको प्रदर्शनीको नेतृत्व गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सञ्चालन गरेको र नेपाली बालबालिकाले बनाएका सुन्दर कलाकृतिको समानान्तर कला प्रदर्शनी पनि आयोजना गरिएको थियो । पुस्तक प्रदर्शनीमा परिचय प्रकाशन, भुण्डीपुराण प्रकाशन, कथालय, कोपिला बुक्स, बुक आर्ट, विवेक सृजनशील प्रकाशन र खोजी प्रकाशन समावेश थिए ।
असोज ५ साँझको समापन सत्रमा हुमायूँ कबिर ढाली, स्याली अल्टशुलर, मार्लीन भिएफ भर्ब्रुग, टुल्टुल विश्वास, महेश पाथिरत्न, डा. विष्णुकुमार केसी, सुनीति अमात्य र तारानिधि भट्टराईले आ–आफ्नो धारणा राखेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राडा. धनप्रसाद सुवेदीले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रतिष्ठान प्रतिबद्ध रहेको बताए ।
प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले सदस्यसचिवको प्रतिबद्धताको समर्थन गर्दै बालसाहित्यको समेत ख्याल राख्दै आफ्नो कार्यालयले बालसाहित्यको प्रवर्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । समापन सत्रका अध्यक्ष एवं नेबासासका अध्यक्ष प्रमोद प्रधानले सम्मेलन समापनको घोषणा गर्नुका साथै समापन मन्तव्य व्यक्त गरेका थिए ।
नेपालमै पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट १५० भन्दा बढीका साथै ३१ जना अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनको मिडिया पार्टनरका रूपमा साहित्यपोस्ट (अंग्रेजी) समेत रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।