पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३७३ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो । समता काव्य सन्ध्याको ३७३ औं शृंखलामा सन्ध्या नायकका रुपमा गीतकार आनन्द आधिकारीलाइ पोयुसांपले उभ्याएको थियो ।
कविताको अघोषि पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिव अग्रज साहित्यकार सरुभक्तले अधिकारका गीतहरुसँग धेरै पहिलादेखि साक्षात्कार भए पनि पहिलोपटक भेटेको बताए । पहिलोपटक भेट्दा पनि चिरपरिचित जस्तै अनुभूति भएको भन्दै उनको प्रस्तुतिबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए । लगातारको मेहनत, ध्यान र अध्ययनकै कारण गीतकार अधिकारी दर्शनको यो उचाइमा पुगेको सरुभक्तले बताए ।
कवि तीर्थ श्रेष्ठले वीरबहादुरहरु वीर नभएको, धनबहादुरहरु कंगाल भएको देखे पनि आनन्द अधिकारीले जीवनको वास्तविक आनन्द लुटेर नाम अनुसारका काम गरिरहेको बताए । समता काव्य सन्ध्यामा आएर अधिकारीको प्रवचन सुन्दा संगत भन्दा पनि सत्सङको अनुभूति आफूलाई भएको उनको भनाइ थियो ।
‘ओराली लागेको हरिणको चाल भो’, ‘शिरफूल शिरैमा’, ‘बाँचुन्जेलीलाई’, ‘हिरा काट्ने हिरै मा’ जस्ता गीतका श्रष्टा हुन आनन्द अधिकारी । ३६ वर्षसम्म नेपाली सेनामा बिताए र अवकाश लिएका अधिकारी अहिले वेद विज्ञानको अध्ययनमा जुटिरहेका छन् । ‘तिरैतिरो जिन्दगी’ शीर्षकको कविताबाट उनले वाचनको दैलो उघारे । उनका कवितामा देशप्रेम झल्किन्थ्यो, ममता र करुण झल्किन्थ्यो । सिधै नभने पनि लाक्षणिक रुपमा मुलुक हाँक्नेहरुप्रति कविताले झटारो हानेको अनुभूति हुन्थ्यो । अथाह सम्भावना भएर मगन्ते स्वभावलाई उनले ‘माग्नेको हातमा सुनको कचौरा’ शीर्षको कविताबाट प्रहार गरे । विश्वभर शान्ति छर्न सफल बुद्धको देशका सेनाहरु शान्ति स्थापनार्थ विभिन्न मुलुकमा पुगेका छन् । ज्यानलाई जोखिममा राखेरै भए पनि द्वन्द्व अन्त्य गरी शान्ति कायम गर्ने सफल नेपाली सेनाको प्रतिकात्मक कविता ‘निलो परेवा’ सुनाए उनले ।
पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले एक व्यक्तिमा यतिधेरै प्रतिभा देखि आफू प्रभावित भएको बताए । यति धेरै उचाइको व्यक्तिलाई सन्ध्या नायक बनाउन पाउँदा संस्थाको उचाइ पनि बढेको उनको भनाइ थियो । संस्थाका उपाध्यक्ष रीता अधिकारीको स्वागतमा सुरु भएको कार्यक्रममा ईश्वरमणि अधिकारी, प्रकाश आचार्य, वसन्त चालिसे, अनुराग अधिकारी, शिव त्रिपाठी, पूनम घिमिरे लगायतले गीत/गजल वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।